काठमाडौँ । खाद्य स्वच्छता तथा गुणस्तर र औषधिको नियमनलाई प्रभावकारी बनाउन खाद्य तथा औषधि प्राधिकरण स्थापना तथा सञ्चालनसम्बन्धी छलफल गरिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा प्रस्तावित प्राधिकरणको कानुनी तथा संस्थागत स्वरूप, कार्यक्षेत्र, संरचना, नियमनकारी जिम्मेवारी र वित्तीय मोडलबारे छलफल भएको हो । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको विशेष उपस्थिति थियो ।
बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, नियामक निकायहरूबीच सहकार्य तथा आवश्यक जनशक्ति र स्रोतसाधन व्यवस्थापनका विषयमा पनि विचारविमर्श गरिएको मन्त्रालयले जनाएको छ ।
बैठकमा मन्त्रालयका महाशाखा प्रमुख, औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, सम्बन्धित शाखाका अधिकारी तथा सरोकारवालाका प्रतिनिधिहरू सहभागी थिए ।
प्रस्तावित प्राधिकरणमार्फत खाद्य स्वच्छता तथा गुणस्तर र औषधिसम्बन्धी नियमनलाई थप व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology