दमौली । गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बुढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाउनुका साथै घर तथा टहरामा क्षति पुर्याएको छ ।
प्रहरीको विवरणअनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ ।
त्यसैगरी, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा बाढी पसेको छ ।
बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा परेका छन् । यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology