काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा अक्टोबर १० मा हुने भनिएको ‘ककरोच जनता पार्टी’ र वामपन्थी सङ्गठनहरूको प्रदर्शनलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको जनाएको छ । प्रदर्शनको जानकारी ढिलो गरी दिइएकाले अनुमति नदिएको प्रहरीको भनाइ छ ।
प्रदर्शनअघि समर्थकहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको आरोप आयोजकहरूले लगाएका छन् । आयोजकका अनुसार प्रदर्शनमा सहभागी हुन दिल्ली आउँदै गरेका विद्यार्थी तथा युवालाई बाटोमै रोकिएको छ । प्रहरीले भने प्रदर्शनस्थल जन्तरमन्तरमा निषेधाज्ञा लागू रहेको र त्यसको उल्लङ्घन भए कारबाही गरिने जनाएको छ ।
प्रदर्शनलाई लक्षित गर्दै दिल्लीका ५७ मेट्रो स्टेसन बन्द गर्ने र १० वटा हिरासत केन्द्र बनाउने निर्णय गरिएको विवरणमा उल्लेख छ । त्यस्तै, नयाँदिल्ली र हजरत निजामुद्दीन स्टेसनमा आउने सबै मेल तथा एक्सप्रेस रेल सेवा अक्टोबर १० का लागि रद्द गरिएको बताइएको छ। रेल सेवा प्रारम्भिक स्टेसनबाटै रद्द गरिएको जनाइएको छ ।
प्रदर्शनको तयारी भइरहेका बेला देशका विभिन्न भागबाट समर्थकहरूलाई नियन्त्रणमा लिइएको आयोजकहरूले आरोप लगाएका छन् । बिहीबार राति पार्टीले दिल्ली आउँदै गरेका पुणेका केही विद्यार्थीलाई बाटोमै नियन्त्रणमा लिएर अज्ञात स्थानमा लगिएको दाबी गरेको थियो ।
पार्टीले मध्यप्रदेशको एउटा दृश्य पनि सार्वजनिक गरेको छ, जसमा चलिरहेको बसमा रहेका युवामध्ये एक जनाले आफूलाई मध्यप्रदेश प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।
पार्टीका नेता अभिजीत दीपकेले सामाजिक सञ्जालमार्फत सरकारले नियन्त्रणमा लिएर विरोधको आवाज दबाउन खोजेको आरोप लगाएका छन् । उनले जति धेरै मानिसलाई नियन्त्रणमा लिइन्छ, त्यति नै धेरै मानिस प्रदर्शनमा सहभागी हुने दाबी गरेका छन् ।
प्रदर्शनमा सहभागी हुन दिल्ली आउने मानिसको सङ्ख्या बढ्न सक्ने अनुमानका बीच प्रहरीले होटल र अतिथिगृहका अभिलेख जाँच गरिरहेको विवरणमा उल्लेख छ । प्रहरीले अक्टोबर ८ देखि ११ सम्म होटलमा बसेका व्यक्तिको परिचयपत्र र विवरण जाँच गरिरहेको जनाइएको छ । विशेषगरी समूहमा आएका २० देखि ३० वर्ष उमेरका युवासँग दिल्ली आउनुको उद्देश्यबारे सोधपुछ गरिएको बताइएको छ।
कोठा एक व्यक्तिका नाममा आरक्षण गरिएको तर बस्ने व्यक्ति अर्कै भएको अवस्थामा पनि प्रहरीले थप जाँच गरिरहेको विवरणमा उल्लेख छ । बस सञ्चालक, बसको अग्रिम आरक्षण, रेल स्टेसन र विमानस्थल आसपासबाट समूहमा आउने व्यक्तिमाथि पनि निगरानी बढाइएको जनाइएको छ।
दिल्ली प्रहरीले जन्तरमन्तरमा प्रदर्शनको अनुमति नदिएको जनाएको छ । भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू रहेकाले पाँच वा त्यसभन्दा बढी व्यक्ति भेला हुन नपाउने प्रहरीको भनाइ छ । आदेश उल्लङ्घन गरे कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
ककरोच जनता पार्टीले भने मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गर्ने घोषणा गरेको हो । पार्टीले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै आएको छ । निर्वाचन आयोगको उक्त प्रक्रियाबाट ठूलो सङ्ख्यामा नाम हटाइएको विषयलाई लिएर भारतमा राजनीतिक विवाद चर्किएको छ ।
यस विवादको पृष्ठभूमिमा निर्वाचन आयुक्त सुखबिर सिंह सन्धु र विवेक जोशीले पछिल्लो १० महिनामा मतदाता नामावलीको विशेष सघन पुनरावलोकनसँग सम्बन्धित निर्णय तथा आदेशमा कम्तीमा १४ पटक आपत्ति जनाएको भारतीय सञ्चारमाध्यम ‘द इन्डियन एक्सप्रेस’ को प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार उनीहरूले केही निर्णय आफ्नो जानकारी वा सिफारिसबिना गरिएको भन्दै प्रश्न उठाएका थिए । मतदाता नामावलीमा नयाँ नाम थप्ने, नाम हटाउने र हटाइएका नाम पुनः कायम गर्ने प्रक्रिया तथा निर्वाचनसम्बन्धी तथ्याङ्क र त्यसलाई व्यवस्थापन गर्ने सफ्टवेयरको पहुँचबारे पनि उनीहरूले चासो व्यक्त गरेका थिए ।
मतदाता बन्न प्रयोग हुने फाराम–६ मा विशेष सघन पुनरावलोकनसम्बन्धी प्रश्न थपिएको विषयमा पनि आपत्ति जनाइएको प्रतिवेदनमा उल्लेख छ । निर्वाचनसम्बन्धी तथ्याङ्क र सफ्टवेयरमा पहुँच तथा कामको बाँडफाँटसम्बन्धी आदेशबारे उनीहरूले क्याबिनेट सचिवलाई समेत पत्र लेखेको जनाइएको छ । यही विवादलाई लिएर ककरोच जनता पार्टीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै प्रदर्शन गर्न लागेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology