काठमाडौँ । ब्राजिलको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाभन्दा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लावियो बोल्सोनारो अगाडि देखिएका छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आगामी अक्टोबर २५ मा दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा फ्लावियोले करिब ४७ प्रतिशत र लुलाले करिब ४५ प्रतिशत मत पाएका छन् ।
४५ वर्षीय फ्लावियो बोल्सोनारो रियो दि जेनेरियोबाट सिनेटर हुन् । उनका पिता जायर बोल्सोनारो सत्ता कब्जाको षड्यन्त्रसम्बन्धी मुद्दामा करिब २७ वर्षको जेल सजाय पाएपछि चुनाव लड्न नसक्ने अवस्थामा छन् । त्यसैले फ्लावियोलाई बोल्सोनारो परिवारको राजनीतिक उत्तराधिकारीका रूपमा हेरिएको छ ।
८० वर्षीय लुला चौथोपटक राष्ट्रपति बन्ने प्रयासमा छन् । उनले सामाजिक कल्याण र गरिबका लागि गरेका कामलाई चुनावी अभियानको मुख्य विषय बनाएका छन् । तर महँगी, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र अपराधका कारण उनको सरकार आलोचनामा परेको छ । संसदीय निर्वाचनमा पनि दक्षिणपन्थी दलहरूले बलियो प्रदर्शन गरेका छन् । फ्लावियोको दल तल्लो सदनमा सबैभन्दा ठूलो शक्तिका रूपमा देखिएको छ । बोल्सोनारो परिवारको राजनीतिक प्रभाव कायम रहेकाले ब्राजिलको निर्वाचनप्रति अमेरिका, चीन र ब्रिक्स सदस्य राष्ट्रहरूको समेत चासो बढेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology