देवदह । नेपाली कांग्रेस देवदह नगर कार्यसमितिको सभापति पदका लागि निवर्तमान उपसभापति अमर लामिछाने र निवर्तमान सचिव नेत्र रिजालबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
सभापति पदमा सहमति जुट्न नसकेपछि दुवै जनाबीच निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको हो । यस्तै, सचिव पदमा दिपक पौडेल र साज मोहम्मदबीच प्रतिस्पर्धा हुने भएको छ ।
मुख्य दुई पदमा सहमति हुन नसकेपछि मतदान प्रक्रिया मार्फत नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ ।

यसैबीच उपसभापति पदमा मिलन मास्की राना र कमला अर्याल निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारी तथा सदस्य पदमा पनि उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस देवदहले जनाएको छ ।
नगर अधिवेशनमा ३०६ जना प्रतिनिधि रहेका छन् । उनीहरूले सभापति र सचिवसहित निर्वाचनबाट चयन हुने पदमा मतदान गर्नेछन् ।
देवदहका १२ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको कांग्रेसले नगर नेतृत्वपनि सर्वसम्मत चयन हुने अपेक्षा गरिएको भए पनि सर्वसम्मतिको प्रयास सफल हुन नसकेको कांग्रेस नेताहरूको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology