Logo

२०८३, आश्विन ९गते


images
images

मंसिर २६ र २७ गते बुटवलमा दोस्रो मगर साहित्य महोत्सव हुने

मंसिर २६ र २७ गते बुटवलमा दोस्रो मगर साहित्य महोत्सव हुने

images
  • मंसिर २६ र २७ गते बुटवलमा दोस्रो मगर साहित्य महोत्सव हुने
    images
    images

    बुटवल । नेपाल मगर महिला संघ, रुपन्देहीले मंसिर २६ र २७ गते बुटवलमा दोस्रो मगर साहित्य महोत्सव-२०८३ आयोजना गर्ने भएको छ । संघले आइतवार बुटवलमा पत्रकार भेटघाट गर्दै महोत्सवबारे जानकारी दिएको हो ।

    images
    images
    images

    मगर समुदायको भाषा, साहित्य, इतिहास, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    महोत्सव सचिवालयकी प्रवक्ता राधिका श्रीषले महोत्सवलाई मगर समुदायको साहित्य र संस्कृतिमा केन्द्रित कार्यक्रमका रूपमा मात्र नभई इतिहास, पहिचान र समसामयिक विषयमा बहस गर्ने साझा थलोका रूपमा विकास गर्न खोजिएको बताइन् । महोत्सवमा विभिन्न क्षेत्रका लेखक, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी, युवा, महिला तथा कलाकारको सहभागिता रहने उनको भनाई छ ।

    images
    images
    images

    ‘साझा बोध, जिम्मेवारी र साझा कदमको यात्रा’ भन्ने मूल सन्देशसहित बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना हुने महोत्सवमा मगर समुदायको इतिहास, संस्कृति, समसामयिक राजनीतिक अवस्था, भाषा र पहिचानलगायत विषयमा ११ वटा सत्रमा विमर्श तथा बहस हुनेछन् ।

    महोत्सवका निर्देशक शंकर गाहाले मगर समुदायसँग जोडिएका विषयलाई फरक कोणबाट बहसमा ल्याउने गरी सत्रहरू तय गरिएको बताए । उनले साहित्यसँगै मगर समुदायको मौलिक ज्ञान, धर्मदृष्टि, राजनीति, महिला उद्यमशीलता, युवा पुस्ताको पहिचान र मातृभाषाका विषयलाई महोत्सवमा समेटिएको जानकारी दिए ।

    महोत्सवमा ‘नेपालमा आदिवासीको पहिचान र पहुँचको प्रश्न’, ‘सर्वोच्च शिखरमा मगरको अमिट पाइला र पौरख’, ‘गोर्खा गौरव : सकस, संघर्ष र नेपाली सार्वभौमसत्ता’, ‘मगरहरूको धर्मदृष्टि : परम्परा, प्रभाव र पहिचानको प्रश्न’, ‘किन बढ्न सकेन राजनीतिमा मगर हस्तक्षेप ?’ लगायतका विषयमा छलफल हुनेछ ।

    त्यस्तै, ‘मगर महिला मेहनतले उद्यम र अर्थ सिंगार्दै’, ‘कला–साहित्यमा रैथाने ज्ञान’, ‘नवयुवाले बुझेको मगर पहिचान’, ‘सदन र प्रशासनमा मगर’, ‘मगर सिनेमाको उकाली–ओराली’ र ‘मातृभाषाको शक्ति’ विषयमा समेत सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।

    महोत्सवमा मातृभाषा कविता प्रतियोगिता, पुस्तक तथा भेषभूषाका स्टल र मगर समुदायका मौलिक परिकारका स्टल रहनेछन् । मास्टर मित्रसेन थापा, अरुण थापा र राम थापाको सम्झनामा विशेष गाला कार्यक्रमसमेत आयोजना गरिनेछ ।

    नेपाल मगर महिला संघ, रुपन्देहीकी अध्यक्ष तथा दोस्रो मगर साहित्य महोत्सव–२०८३ की संयोजक निर्मला थापा मगरले मगर समुदायको इतिहास र संस्कृति आफैंले अभिलेखीकरण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन् । उनले महोत्सवलाई मगर समुदायका विषयमा बहस गर्ने र ज्ञान आदानप्रदान गर्ने अवसरका रूपमा अघि बढाउन खोजिएको बताइन् ।

    महोत्सवमा देशभरका लेखक, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी, युवा, महिला, कलाकार तथा नीति–निर्माताको सहभागिता रहने आयोजकले जनाएको छ ।

    महोत्सवका अवसरमा गोरेबहादुर खपांगी मगर सामाजिक सेवा पुरस्कार र जीत–रेख मगर साहित्य पुरस्कार प्रदान गरिनेछ । दुवै पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

    मगर भाषा कविता प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    पत्रकार भेटघाटमा महोत्सवका सचिवालय संयोजक यम राना लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मगर साहित्य महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।