देवदह । शिवालय सिर्जनशील महिला विकास समूहको अध्यक्षमा दुर्गा केसी चयन भएकी छन् । सनिवार सम्पन्न समूहको प्रथम अधिवेशनबाट केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन भएको हो ।
समूहको उपाध्यक्षमा पार्वती अधिकारी, सचिवमा कोपिला हिताङ, कोषाध्यक्षमा सरस्वती पाण्डेय, सह-सचिवमा अञ्जना आचार्य रहेकी छन् । यस्तै सदस्यहरुमा कष्णा थापा, इन्द्रकला पाण्डेय, कमला चापागाई लुल्सी भारती र तारा गुरुङ रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले विकास निरन्तर चलिरहने प्रक्रिया भएको बताउँदै महिलाहरू आर्थिक रूपमा पनि सक्षम हुन आवश्यक रहेको धारणा राखिन् । घरायसी कामसँगै महिलाले आयआर्जनका गतिविधिमा जोडिनुपर्ने बताउँदै उनले सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, देवदह खानेपानी संस्थाका अध्यक्ष राजन अधिकारी, निरन्तर महिला सहकारीकी अध्यक्ष शर्मिला पन्थ, गाउँ वन समन्वय सञ्जालका अध्यक्ष खेमनारायण अधिकारी, शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पौडेल, लक्ष्मीनगर आमा समूहकी अध्यक्ष यमकुमारी भुसाल, राधाकृष्ण मन्दिरका अध्यक्ष कमलप्रसाद भुसाल, डिल्लीराज मरासिनी, देविप्रसाद न्यौपाने लगाएतले बोल्दै महिला सशक्तिकरणका लागि सवैपक्षको सहकार्य आवश्यक रहेको बताए ।
सामाजिक समावेशिता तथा सम्मानलाई समेत प्राथमिकता दिइएको कार्यक्रममा एक जना ज्येष्ठ महिला तथा फरक क्षमता भएका तीन जनालाई जनही १ हजार १ सय रुपैयाँका दरले सम्मान गरिएको थियो । त्यसैगरी, दुई जना विद्यार्थीलाई विद्यालय पोसाक, ब्याग, कापी, पेन्सिललगायत शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
सोही अवसरमा समूहले सञ्चालन गरेका साँस्कृतिक कार्यक्रमहरुमा ५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सहयोगदाताहरूलाई प्रमाणपत्र तथा करुवासहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सामुदायिक भवन उद्घाटन तथा स्मारिका विमोचनसँगै संस्थाको आगामी कार्यदिशाबारे छलफल गरिएको थियो । प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले संस्थाको संस्थागत विकास, महिला सशक्तीकरण, सीप विकास तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
समूहकी अध्यक्ष पवित्रादेवी रिमालको अध्यक्षता, दुर्गा केसीको स्वागत र ओविता ज्ञवाली गौतमको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology