सुनवल । सुनवल नगरपालिका–७ चारपालामा कालभैरव मन्दिर उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमबीच नगर प्रमुख विमला अर्यालले मन्दिर उद्घाटन गरिन् ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख अर्यालले मन्दिरको संस्थागत विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । मन्दिर निर्माणसँगै कालभैरवको पूजा गर्न पाल्पा जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताइन् ।
सुनवल–७ का वडा अध्यक्ष नारायण आचार्यले मन्दिरको विकास र प्रचारप्रसारको दायित्व मन्दिर समिति र वडा कार्यालयको मात्र नभई समुदायको समेत भएको बताए । प्रसिद्ध सम्पदाहरू रहेको सुनवलमा कालभैरव मन्दिर अर्को सम्पदाका रूपमा थपिएको उनको भनाइ थियो ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष रोमनाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिनेश कँवरले स्वागत तथा दीपक अर्यालले सञ्चालन गरेका थिए ।
मन्दिर उद्घाटन समारोहमा नगद तथा जिन्सी सहयोग गर्ने चन्दादाता र देशका विभिन्न स्थानबाट सहभागी हुन आएका योगी साधकहरूलाई सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology