अनिष पन्थी, गुल्मी । सामाजिक संजालकाे प्रभावका कारण बाग्लुङको एकघरपरिवारले लालपुर्जासहितको जग्गा पाएका छन् । जिल्लाकाे वडिगाड गाउँपालिका वडा नम्बर ६ का एक घरपरिवारले लालपुर्जासहितको जग्गा पाएका हुन् ।
बडिगाड खोलाको किनारमा रहेकाे ओढारमा बस्दै आएका ७४ बर्षका छबे दमाईलाई घर बनाउन घडेरी किनेर लालपुर्जा हस्तान्तरण गरिएको जिटिभी नेपाल नामक युट्युव संचालन गर्दै आएका दिपक नेपालीले बताए ।
बाँके स्थायी घर भई हाल अमेरीकामा बस्दै आएका लिल बहादुर थापाले ओढारमा बसेको भिडियो सामाजिक संजाल हेरेपछि उक्त परिवारलाई सहयोग गरेको सो युट्युवका सञ्चालक सञ्चारकर्मी नेपालीले जानकारी दिए ।
साहुले सम्पत्ती लिलामी गरेपछि उनीहरु काखमा छोराछोरी लिएर गाउँ छोडेका थिए । गाउँ छोडेर अरुको घरमा काम गर्दै गुजारा चलाउदै आएका उनीहरुले काम गर्न नसक्ने भएपछि ओढारमा बस्नपर्ने अवस्था आएको छबेकी श्रीमती जुना दमाईले बताइन् ।
थापाले किनिदिएकाे जग्गा अहिले छबे दमाईकाे नाममा पास भइसकेको र अब छिट्टै घर बनाउने तयारी भएको युट्युवर नेपालीले बताएका छन् ।
अमेरिकामा बसेर गरिबकाे लागि जग्गा किनिदिएर सहयोग गर्नु महान् काम भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । जग्गा उपलब्ध गराउने थापालाई गाउँपालिका अध्यक्ष अधिकारीले धन्यवाद समेत व्यक्त गरिन् ।
श्रीमान, श्रीमती सहित उनिहरुका ५ छोरी र एउटा ११ बर्षको छोरा रहेका छन् । उनीहरूका सबै छोरीको बिहे भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology