काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधानका उपलब्धिको रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै प्रचण्डले लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, नागरिक अधिकार, राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निरंकुशता, अन्याय र विभेदविरुद्ध विभिन्न कालखण्डमा संघर्ष गर्ने अग्रज तथा लोकतन्त्रका योद्धाहरूप्रति सम्मान व्यक्त गरेका छन् ।
प्रचण्डले नेपालको संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन् । २०७२ असोज ३ गते संविधानसभाबाट जारी संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत गर्दै सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको उनले उल्लेख गरेका छन् ।
उनका अनुसार संविधानले मौलिक अधिकार, सामाजिक न्याय, समानुपातिक समावेशिता, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र स्वशासनलगायत लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गरेको छ । संविधानको उद्देश्यअनुरूप दिगो शान्ति, सुशासन, विकास, समृद्धि र समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरणलाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।
संविधान जारी भएको ११ वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन अझै पूरा हुन बाँकी रहेको प्रचण्डको भनाइ छ । संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको उनले बताएका छन् ।
सन्देशमा प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारमाथि हुने कुनै पनि प्रहार वा पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने बताएका छन् । संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।
त्यसैगरी राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि उत्पन्न हुन सक्ने चुनौतीप्रति सबै सजग हुनुपर्ने उनले बताएका छन् । राष्ट्रिय हितको रक्षा कुनै एउटा दल वा शक्तिको मात्र नभई सम्पूर्ण नेपालीको साझा दायित्व भएको सन्देशमा उल्लेख छ ।
प्रचण्डले राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । संविधानका अक्षर मात्र नभई यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology