देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणका लागि १७२ जना खेलाडीले नाम दर्ता गराएका छन् । तीमध्ये ७१.५ प्रतिशत खेलाडी यसअघिका डिपिएलमा नखेलेका नयाँ अनुहार छन् ।
डिपिएल आयोजक संस्था डि–युनिटी युथ क्लबले बिहीबार पत्रकार भेटघाट गर्दै प्रतियोगिताको तयारी र खेलाडी छनोटसम्बन्धी जानकारी दिएको हो । प्रतियोगिता कात्तिक ७ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।
पत्रकार भेटघाटमा बोल्दै क्लबका सहसंयोजक तथा डिपिएल खेल संयोजक गोपाल भण्डारीले दर्ता भएका खेलाडीको लिलामी (अक्सन) असोज १७ गते हुने बताए ।
खेल संयोजक भण्डारीका अनुसार दर्ता भएका खेलाडीमध्ये ५३.५ प्रतिशत देवदहका स्थानीय छन् भने ४६.५ प्रतिशत खेलाडी देवदह बाहिरका छन् । पुर्वको झापादेखि पश्चिम नेपालसम्मका खेलाडी डिपिएल खेल्न इच्छुक हुँदै नाम दर्ता गराएको उनले बताए ।
दर्ता भएका खेलाडीमध्ये भूमिकाका आधारमा अलराउन्डरको संख्या सबैभन्दा धेरै छ । १२४ जना अलराउन्डरले नाम दर्ता गराएका छन् । त्यस्तै ३७ जना ब्याट्सम्यान, २१ जना बलर र १९ जना विकेटकिपर अक्सनमा सहभागी हुनेछन् ।
त्यसैगरी ब्याटिङतर्फ ९२.४ प्रतिशत खेलाडी दायाँहाते छन् । बलिङतर्फ ६५.७ प्रतिशत दायाँहाते पेस बलर छन् । उमेर समूहमा २१ देखि २५ वर्षका खेलाडीको संख्या बढी रहेको भण्डारीले बताए ।
यसपटक डिपिएलमा आठ टोली सहभागी हुनेछन् । तीमध्ये अघिल्ला सिजनका ५ र नयाँ तीन टोली छन् । यसअघि दुई वटै सीजनको च्याम्पियन पाकडी प्यान्थर्सले यो पटक सहभागी नभएको आयोजकले जनाएको छ । "यसअघि पाकडी प्यान्थर्सबाट प्रतियोगितामा सहभागी खेलाडीले नाम दर्ता गराएको गराउनु भएको छ । तर संस्थागत रूपमा पाकडी प्यान्थर्सले भने नाम दर्ता गराएन" संयोजक भण्डारीले भने ।
प्रत्येक टोलीले अक्सनअघि एक मार्की, एक स्थानीय र एक देवदह बाहिरका गरी तीन खेलाडी रिटेन गर्न पाउनेछन् । आवश्यकताअनुसार रिटेन खेलाडी ट्रेड गर्न सकिने व्यवस्था पनि गरिएको जनाइएको छ ।
टोलीमा ११ जना स्थानीय र पाँच जना देवदह बाहिरका गरी १६ खेलाडी अनिवार्य राख्नुपर्नेछ । खेलाडी खरिदका लागि प्रत्येक टोलीलाई ७५ हजार रुपैयाँको पर्स बजेट तोकिएको छ । अक्सनमा खेलाडीको न्यूनतम आधार मूल्य एक हजार रुपैयाँ राखिएको छ ।
डिपिएल सिजन–३ को विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजक संस्था डि–युनिटी युथ क्लबका अध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए ।
कात्तिक ७ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा १२ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology