बुटवल । बुटवल–१३ बेलबासस्थित विवेकशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा ३० लाख ५० हजार ५ सय ५२ रुपैयाँ नाफा गरेको छ । सहकारीको कुल शेयर पूँजी १ करोड ५७ लाख ८३ हजार रुपैयाँ पुगेको छ भने कुल निक्षेप १२ करोड १६ लाख ६६ हजार १ सय ४१ रुपैयाँ १२ पैसा रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको बुधबार सम्पन्न १९ औं वार्षिक साधारणसभामा अध्यक्ष भरत गौतमले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बिमला न्यौपाने गैरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक पोतबहादुर पोख्रेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।
सहकारीका व्यवस्थापक सीता पन्थी आचार्यका अनुसार सहकारीमा हाल १ हजार ५ सय शेयर सदस्य आबद्ध छन् । सहकारीले २०७८ साल कात्तिक ३० गतेदेखि आफ्नै भवनबाट सेवा सञ्चालन गर्दै आएको छ ।
साधारणसभामा ज्येष्ठ शेयर सदस्य नारायणप्रसाद बस्याल र चन्द्रकला क्षेत्री, कक्षा १२ मा उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भएका नयन आचार्य र पूर्णिमा रावल, असल कारोबार गर्ने सदस्य मीना पोख्रेल तथा धेरै सदस्य संख्या विस्तार गर्ने पुस्करनाथ अधिकारीलगायतलाई सम्मान गरिएको थियो ।
सहकारीका संस्थापक अध्यक्ष टेकबहादुर थापाले शेयर सदस्यका लागि सहकारीले राम्रो काम गर्दै आएको बताउँदै २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
यसैबीच सहकारीले भोटेकोशी क्षेत्रमा हालै आएको बाढीबाट प्रभावितको राहत, उद्धार तथा उपचारका लागि ५१ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
साधारणसभामा सहकारीका निवर्तमान अध्यक्ष पूर्णबहादुर कार्की, सल्लाहकार मधुकला कुँवर, बुटवल–१३ का जनप्रतिनिधि लालबहादुर गुरुङलगायतले मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष भरत गौतमको अध्यक्षतामा भएको साधारणसभाको सहकारीका ज्येष्ठ शेयर सदस्य हुमा शर्माले दीप प्रज्वलन गरी उद्घाटन गरेकी थिइन् । कार्यक्रममा शर्माले सहकारीले सदस्यको हितमा काम गर्दै आएको बताउँदै सहकारी आर्थिक तथा भौतिकरूपमा सबल हुनुमा शेयर सदस्यको साथ र सहयोग महत्वपूर्ण रहेको बताइन् ।
उपाध्यक्ष टंकप्रसाद पराजुलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर क्षेत्रीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology