नवलपरासी । गण्डक क्षेत्रमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र २८ वटा शरीरका विभिन्न अंग फेला परेका छन् । शनिबार बिहान १० बजेसम्मको विवरणअनुसार गण्डक क्षेत्रमा संकलन गरिएका शव तथा शरीरका अंग विभिन्न अस्पतालमा राखेर पहिचानको प्रक्रिया अघि बढाइएको छ ।
प्राप्त विवरणअनुसार फेला परेका शवमध्ये १६ जना महिला, ३४ जना पुरुष, एक बालक र तीन बालिका रहेका छन् । यसरी फेला परेका शव र शरीरका अंगको कुल संख्या ८२ पुगेको छ ।
शव तथा शरीरका अंगलाई भैरहवाको भीम अस्पताल, पिपरा अस्पताल, भैरहवा मेडिकल कलेज तथा अन्य अस्पतालमा राखिएको छ । कतिपय शवको पहिचान खुलिसकेको भए पनि धेरैको पहिचान हुन बाँकी रहेको छ ।

हालैको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी प्रणाली हुँदै बगाएर ल्याएका शव विभिन्न जिल्लामा फेला पर्ने क्रम जारी रहेको छ ।
गण्डक क्षेत्रको सुस्ता आसपासमा पनि बाढीले बगाएर ल्याएका शव संकलन गरिएको विवरण यसअघि सार्वजनिक भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology