बुटवल । बुटवलमा सामुदायिक ब्लड बैंक सञ्चालनको तयारी अघि बढाइएको छ । स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेड, बुटवल–५ ले स्थानीय अस्पताल तथा विभिन्न संघसंस्थासँग सहकार्य गरी सामुदायिक ब्लड बैंक सञ्चालन गर्ने योजना अघि सारेको हो ।
संस्थाको चौथो वार्षिक साधारण सभामा अध्यक्ष कृष्ण चौहान क्षेत्रीले प्रस्तुत गरेको प्रतिवेदनमा रक्तदाताको सक्रियता र समुदायको सहकार्यमा बुटवलमा सामुदायिक ब्लड बैंक स्थापना तथा सञ्चालन गर्ने योजना प्रमुख प्राथमिकतामा रहेको उल्लेख गरिएको छ । संस्थाले यसअघि पनि रुपन्देहीमा अस्पतालसँग सहकार्य गरी ब्लड बैंक सञ्चालन गर्ने तयारी अघि बढाएको जनाएको थियो ।
रगत आवश्यक पर्ने बिरामीले सहज र व्यवस्थित सेवा पाउन सकून् भन्ने उद्देश्यले सामुदायिक अवधारणामा ब्लड बैंक सञ्चालन गर्न लागिएको सहकारीले जनाएको छ । बुटवलमा रक्तदान अभियानमा सक्रिय स्वयंसेवीलाई संस्थागत गर्दै रगत तथा रक्ततत्त्वको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
साविकको सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थालाई नाम परिवर्तन गरी २०८१ चैत २५ गते सम्पन्न विशेष साधारण सभाबाट स्वयंसेवी रक्तदातालाई समेट्दै संस्थाको रुपान्तरण गरिएको थियो । हाल सहकारीमा २९९ जना शेयर सदस्य रहेका छन् ।
नियमित रक्तदान अभियानमा सक्रिय स्वयंसेवीलाई लक्षित गर्दै प्रवेश शुल्क, कोष, शेयर र बचतसहित न्यूनतम ७ हजार रुपैयाँमा शेयर सदस्य बन्न सकिने व्यवस्था गरिएको छ ।
हाल संस्थाको शेयर पुँजी २८ लाख ५७ हजार रुपैयाँ पुगेको छ । बचत संकलन ७० लाख ७६ हजार ५ सय २१ रुपैयाँ ६२ पैसा र ऋण लगानी ५५ लाख ९३ हजार ९ सय १९ रुपैयाँ ५१ पैसा रहेको छ । बैंक मौज्दात ४३ लाख ८० हजार ४ सय रुपैयाँ ७ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
वित्तीय कारोबारसँगै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा हरेक तीन महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । आर्थिक वर्ष २०८२/०८३ मा बैंक तथा वित्तीय संस्था समूहअन्तर्गत सर्वाधिक १४८ युनिट रगत तथा रक्ततत्त्व संकलन गर्न सफल भएकोमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले संस्थालाई सम्मान गरेको थियो ।
सहकारीले आगामी दिनमा चार वर्षे आवधिक योजना तयार गर्ने, कार्यक्षेत्र विस्तार गरी रुपन्देही जिल्लाभर कायम गर्न विनियम संशोधन गर्ने तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउने योजना समेत अघि सारेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology