देवदह । लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले युवाहरू आफ्नो विचार र दृष्टिकोणमा स्पष्ट हुँदै भविष्यको ठोस योजना निर्माणमा लाग्नुपर्ने बताएका छन् । देवदहमा आयोजित ‘प्रदेशस्तरीय अन्तरपुस्ता सरोकारवाला संवाद’ मा बोल्दै उनले अधिकार खोज्ने युवाले आफ्नो कर्तव्य भुल्न नहुनेमा जोड दिए ।
अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को सन्दर्भमा आयोजित कार्यक्रममा सांसद बस्नेतले बन्द कोठामा हुने सेमिनार र गोष्ठीले मात्रै समाजका वास्तविक समस्याको समाधान नदिने यथार्थ औंल्याए । उनले युवाहरूलाई नारामा मात्र सीमित नभई व्यवहारमै रूपान्तरणको अभियानमा जोडिन आग्रह गरे ।
‘सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक तथा शासकीय संयन्त्रमा युवा सहभागिता’ विषयक संवादमा देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्री र नगर प्रवक्ता गणेश डुम्रेले स्थानीय तहमा युवाहरूको भूमिकाबारे चर्चा गरेका थिए ।
त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग बुटवल कार्यालयका अजित ठाकुर, गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सञ्जय लम्साल र समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरेलगायतले सुशासन कायम गर्न शासकीय संयन्त्रमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता आवश्यक रहेको धारणा राखेका थिए ।
गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश संयोजक सुशीला बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधिमूलक युवाहरूको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology