बुटवल । परियार सेवा समाज लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम आइतबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले राजु बराहाको अध्यक्षतामा नयाँ प्रदेश समिति सर्वसम्मत चयन गरेको छ ।
समाजका लुम्बिनी प्रदेश अध्यक्ष निर्मल सुनामको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष नारायण परिश्रमी परियार प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि परियारले परियार समुदायले परम्परागत रूपमा आफ्नो पेशा, व्यवसाय, कला र संस्कृतिको संरक्षण गर्दै आएको उल्लेख गर्दै अब समुदायको मुख्य कार्यभार संगठित भएर अगाडि बढ्नु रहेको बताए । केन्द्रीय समितिले जिल्ला शाखामार्फत भवन निर्माण, हाते मेसिन वितरण, सिलाईको दररेट कार्यान्वयन तथा नौमती बाजाको संरक्षणलगायतका महत्वपूर्ण योजना अघि सारेको उनको भनाइ थियो ।
समाजका केन्द्रीय उपमहासचिव सरोज गौतमले परियार समुदाय विभाजित नभई एकजुट हुनुपर्ने बताए । समुदायमा सीप र कलाको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले राज्यका हरेक तहमा समुदायको प्रभावकारी उपस्थिति आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा समाजका कोशी प्रदेश इन्चार्ज ओजकुमार सिवा, पूर्व केन्द्रीय उपाध्यक्ष खड्कबहादुर दर्नाल, लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष राजु बराहा, लुम्बिनी प्रदेश इन्चार्ज हरि नेपाली, अर्घाखाँची जिल्ला अध्यक्ष रमेश कुमार परियारलगायतले शुभकामना मन्तव्य राख्दै समुदायको उत्थान र विकासका लागि एकता आवश्यक रहेको बताए ।
कार्यक्रममा ९८ वर्षीय ज्येष्ठ सदस्य लोकबहादुर रणपाल, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, अधिवक्ता जानकी बराहा, कलाकार संजय सौगात, सम्झना रणपाल तथा परियार समाज रुपन्देहीका संस्थापक अध्यक्ष कृष्ण घलेलगायतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष निर्मल सुनामले २१औँ शताब्दीमा प्रवेश गरिसक्दा पनि परियार समुदायलाई हेर्ने सामाजिक दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन नसकेको बताए । कला र सीपका धनी परियार समुदायलाई राज्यले पर्याप्त रूपमा चिन्न र अवसर दिन नसकेको उनको भनाइ थियो । उनले समुदायको हकहित, पहिचान र अधिकारका लागि समाजले प्रभावकारी रूपमा अगुवाइ गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेश सदस्य नरेन्द्र दर्जीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव तथा कार्यक्रम संयोजक सिमा परियारले गरेकी थिइन् ।
अधिवेशनले राजु बराहाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मिना नेपाली, कोषाध्यक्षमा सुरेन्द्र कुमार रणपाल र महासचिवमा सिमा दर्जी चयन भएका छन् । सदस्यहरूमा दिलबहादुर परियार, रमेश कुमार परियार र पशुपति सुनाम सर्वसम्मत चयन भएका छन् ।
सोही अवसरमा हरितालिका तीजको अवसर पारेर तीज मिलन कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा लोक तथा दोहोरी गायक संजय सौगात, सम्झना रणपाल र कुसुम परियारले मौलिक तीज गीत प्रस्तुत गरी उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममार्फत समुदायका सदस्यबीच आपसी भेटघाट, एकता र सांस्कृतिक सद्भावको सन्देशसमेत प्रवाह गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology