काठमाडौँ । ब्राजिलका महान् फुटबल खेलाडी रोनाल्डिन्हो एक दशकभन्दा बढी समयपछि फेरि व्यावसायिक फुटबलमा फर्किएका छन् । ४६ वर्षीय रोनाल्डिन्होले इटालीको तेस्रो श्रेणीको क्लब राभेन्नासँग सम्झौता गरेका हुन् ।
बिहीबार राभेन्नामा उनको भव्य स्वागत गरिएको थियो । समुद्र किनारमा आयोजित कार्यक्रममा करिब ६ हजार समर्थक सहभागी भएका थिए ।
रोनाल्डिन्होले आफू राभेन्नामा साथीहरूको आग्रह र मित्रताका कारण आएको बताउँदै टोलीलाई सहयोग गर्न चाहेको बताए । तर उनले मैदानमा कहिले उत्रिने भन्ने विषयमा भने क्लबका अध्यक्ष र प्रशिक्षकमा निर्भर रहने बताएका छन् ।
रोनाल्डिन्होले सन् २०१५ मा फ्लुमिनेन्सबाट अन्तिम पटक व्यावसायिक फुटबल खेलेका थिए । यसअघि उनले इटालीको एसी मिलानबाट सन् २००८ देखि २०११ सम्म खेलेका थिए ।
ब्राजिललाई सन् २००२ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डिन्होले सन् २००५ मा विश्वकै उत्कृष्ट खेलाडीको पुरस्कारसमेत जितेका थिए ।
राभेन्नाका अध्यक्ष इग्नाजियो सिप्रियानीले रोनाल्डिन्होले क्लबबाट आफ्नो खेल जीवनको अन्तिम गोल गरून् भन्ने आफ्नो सपना रहेको बताएका छन् । यद्यपि, रोनाल्डिन्होले नयाँ सिजनको पहिलो खेलमा भने सहभागिता नजनाउने भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology