देवदह । देवदहस्थित निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा युगज्योति माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
संस्थाले विद्यालयका जेहेन्दार विद्यार्थीको शैक्षिक सहयोगका लागि २३ हजार रुपैयाँ छात्रवृत्तिका रूपमा सहयोग गरेको सहकारी संस्थाकी अध्यक्ष सर्मिला पन्तले जानकारी दिइन् ।
अध्यक्ष पन्तले सहकारीका सदस्यले थोरै–थोरै रकम बचत गर्दै आएको र त्यही रकमबाट सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गरिएको बताइन् । उनले सहकारीले आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरीन् ।
विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले विद्यालयका विद्यार्थीलाई गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीको अध्ययनमा थप प्रोत्साहन मिल्ने बताए ।
वडा नं ६ का वडा अध्यक्ष खेमबहादुर थापाले विद्यार्थीलाई सहयोग गर्नु सकारात्मक कार्य भएको बताए । उनले स्थानीय तहबाट पनि शिक्षा क्षेत्रमा विभिन्न सहयोग हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा विद्यालयलाई यस्तै सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थीको शैक्षिक प्रगति तथा शिक्षाको क्षेत्रमा सहकारी र समुदायको भूमिकाबारे समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष अध्यक्ष विष्णुप्रसाद न्यौपाने, पूर्वअध्यक्षद्वय खेमनारायण अधिकारी र राधिका अर्याल लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology