बुटवल । नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल बिश्वकर्माले रोल्पाको थवाङ पहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सरकारसंग माग गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ती जारी गरेर रोल्पाको थावाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति गएको भीषण पहिरोमा परी १० जनाको मृत्यु, ३ जना बेपत्ता र २ जना घाइते भएको घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरूको उचित र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था तत्काल मिलाउन माग गरेका हुन् ।
“यस दुःखद घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।” उनले भनेका छन् ।
पहिरोमा ज्यान गुमाउनेका परिवारलाई मृतकको संस्कारका लागि आवश्यक सहयोग, उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् । पहिरोका कारण विस्थापित भएका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी उचित पुनर्स्थापना, आवास तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउनसमेत उनले आग्रह गरेका छन् ।
विपद्को कठिन घडीमा प्रभावित परिवार तथा स्थानीयवासीलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको विश्वकर्माले बताएका छन् । उद्धार तथा राहत कार्यमा कुनै ढिलाइ हुन नदिन सम्बन्धित सबै निकायलाई विशेष संवेदनशीलताका साथ परिचालन गर्न उनले आग्रह गरेका छन् ।
त्यसैगरी, घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानीय नागरिक, स्वयंसेवक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगीप्रति विश्वकर्माले उच्च सम्मानसहित धन्यवाद ज्ञापन गरेका छन् ।
विपत्तिको यस घडीमा शोकाकुल परिवारजन तथा प्रभावित नागरिकहरूसँग आफ्नो ऐक्यबद्धता रहेको उल्लेख गर्दै उनले उद्धार, उपचार, राहत र पुनर्स्थापनाका कार्यमा राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालित हुने अपेक्षा व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology