काठमाडौँ । दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक अन्तर्राष्ट्रिय यात्रु आवागमनका आधारमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ । यस वर्षको पहिलो ६ महिनामा इन्चोन विमानस्थलले ३ करोड ८४ लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल परिषद्को प्रारम्भिक तथ्याङ्कअनुसार बेलायतको लन्डन हिथ्रो विमानस्थल ३ करोड ७७ लाख ९० हजार यात्रुसहित दोस्रो स्थानमा छ । सिंगापुरको चाङ्गी विमानस्थल ३ करोड ४५ लाख ३० हजार यात्रुसहित तेस्रो स्थानमा रहेको छ ।
इन्चोनको यात्रु आवागमन बढ्नुमा मध्यपूर्वमा जारी अमेरिका-इरान द्वन्द्वको समेत प्रभाव देखिएको विमानस्थल व्यवस्थापनले जनाएको छ । द्वन्द्वका कारण मध्यपूर्वका प्रमुख हवाई केन्द्र हुँदै यात्रा गर्ने केही यात्रुले आफ्नो मार्ग परिवर्तन गरी इन्चोन हुँदै युरोपलगायतका गन्तव्यतर्फ यात्रा गर्न थालेका छन् ।
गत वर्षको सोही अवधिको तुलनामा इन्चोन हुँदै अन्य विमानस्थलमा जाने यात्रुको संख्या १८ प्रतिशतले बढेको छ । विशेषगरी युरोपलाई अन्तिम गन्तव्य बनाएर इन्चोन हुँदै यात्रा गर्ने यात्रुको संख्या ६३.२ प्रतिशतले बढेर २ लाख १० हजार पुगेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।
यसअघि पूर्ण वर्षको तथ्याङ्कमा सन् २०२४ र २०२५ मा दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै व्यस्त विमानस्थलमध्ये दोस्रो स्थानमा थियो । तर यसपटक मध्यपूर्वको द्वन्द्वका कारण दुबईको स्थान शीर्ष पाँचबाटै बाहिरिन सक्ने अनुमान गरिएको छ। इन्चोन भने सन् २०२४ मा १२औँ र सन् २०२५ मा १३औँ स्थानमा थियो ।
सन् २००१ मा सञ्चालनमा आएको इन्चोन विमानस्थलले अहिले १५८ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेको छ । तुलनाका लागि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले १३९, चीनको सांघाई पुडोङ विमानस्थलले ९२ र जापानको नारिता विमानस्थलले ८६ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेका छन् ।
इन्चोन विमानस्थलको यात्रु आवागमन बढ्नुमा पूर्वाधार विस्तारले पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । बढ्दो यात्रु चाप व्यवस्थापन गर्न विमानस्थलले आफ्नो क्षमता विस्तार गर्दै आएको छ ।
इन्चोन विमानस्थल निगमका कार्यवाहक अध्यक्ष किम बम होले विमानस्थललाई विश्वकै पहिलो स्थानमा पुर्याउन सरकारको सहयोग, नागरिकको समर्थन र विमानस्थलमा कार्यरत कर्मचारीको मेहनत महत्वपूर्ण रहेको बताएका छन् । आगामी दिनमा यात्रुको सुविधा र सहज यात्रालाई प्राथमिकतामा राख्दै विमानस्थलको प्रतिस्पर्धात्मक क्षमता थप बलियो बनाउने उनले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology