तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नवनिर्बाचित जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण गरेका छन् । यसअघि नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले रुपन्देहीको भैरहवा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । मुख्य निर्वाचन अधिकृतवाट सपथ ग्रहण गरे लगत्तै नगरप्रमुख खाँणले शुक्रबार बिहान तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा उपप्रमुख जागेश्वर देवी चौधरी लगायत १७ वडाका वडाअध्यक्ष सहित निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
नगरपालिकामा पदभार ग्रहण गर्दै नगर प्रमुख खाँणले तिलोत्तमा नगर भित्रका सामुदायिक विद्यालयमा १ देखि ५ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई सरकारले दिदै आएको १५ रुपैयाँ दिवा खाजामा नगरपालिकाको तर्फबाट १० रुपैयाँ थप गर्ने पहिलो निर्णय सदर गरेका छन् । शिक्षामा आकर्षण बढाउन नगर सरकारले बिशेष प्राथमिकता दिने उनको भनाई छ। शिक्षा र स्वास्थ्यमा नगरपालिकाले बिशेष लगानी गर्ने छ- उनले पदभार ग्रहण कार्यक्रममा भने।
सो अवसरमा बोल्दै नगरप्रमुख खाँणले सबैको सहमति, सहकार्य र समन्वयमा अबको नेतृत्व अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे । अघिल्लो नेतृत्वले गरेका असल कार्यहरुको अबलम्बन गर्दै थप नयाँ कार्यको थालनी गरिने समेत प्रमुख खाँणले बताए ।
नगरपालिका परिसरमा ५ वटा बृक्षरोपण गर्दै शुरु गरिएको सपथ ग्रहण कार्यक्रममा निबर्तमान नगरप्रमुख बासुदेव घिमिरे, निर्बाचन अधिकृत माधव लोहनी, नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नेकपा माओंबादी केन्द्रका बेलप्रसाद शर्मा, शान्ति नमुना माविका कुलप्रसाद लामिछाने, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology