काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।
शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि गरेका छन् । यद्यपि, वीर अस्पताल प्रशासनले भने औपचारिक रूपमा मृत्युको जानकारी सार्वजनिक गरिसकेको छैन ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले नेपालीको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको थियो । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
उनको उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठसहित २१ सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।
नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उनको उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology