काठमाडौँ । भेनेजुएलामा दुई शक्तिशाली भूकम्पपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन २४ देशले सहयोग पठाएका छन् ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले विभिन्न देशबाट दुई हजार ७४१ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन् । उनले विदेशी उद्धार टोलीहरू भेनेजुएलाका उद्धारकर्मीसँग समन्वय गरेर संयुक्त रूपमा खोज तथा उद्धार अभियानमा खटिइसकेको बताएकी छन् ।
यसअघि राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले २१ देशबाट दुई हजार २४२ जना उद्धारकर्मी भेनेजुएला पुगेको जानकारी दिएका थिए । पछिल्लो विवरणअनुसार सहयोग गर्ने देश र उद्धारकर्मी दुवैको संख्या बढेको छ ।
यसैबीच, भूकम्पमा ज्यान गुमाउनेको संख्या बढेर कम्तीमा १४३० पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष रोड्रिगेजका अनुसार तीन हजार २३८ जना घाइते भएका छन् भने तीन हजार १४२ परिवार घरविहीन बनेका छन्।
उनले बुधबार आएका दुई मुख्य भूकम्पपछि हालसम्म चार सय ३० भन्दा बढी पराकम्प गएको पनि बताएका छन्। लगातारका पराकम्पका कारण उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ भने प्रभावित क्षेत्रमा जोखिम कायम रहेको अधिकारीहरूले जनाएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology