बुटवल । पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाजसम्बन्धी रोगहरूको उपचारमा आधुनिक प्रविधि, नवीनतम अनुसन्धान र उपचार पद्धतिबारे ज्ञान आदान–प्रदान गर्ने उद्देश्यले तिलोत्तमामा ‘ग्यास्ट्रो कोर २.० (GASTRO CORE 2.0) २०२६’ सम्मेलन सुरु भएको छ ।
‘ग्यास्ट्रो सेन्टर बुटवल’ को आयोजनामा भएको सम्मेलनमा नेपाल र भारतका गरी करिब २३० भन्दा बढी वरिष्ठ चिकित्सक, विशेषज्ञ तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
राजधानी काठमाडौं बाहिर पहिलो पटक यति ठूलो स्तरमा ग्यास्ट्रोसम्बन्धी सम्मेलन आयोजना गरिएको बताइएको छ ।
सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे ले गरेका छन् । कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ ।
सम्मेलनका संयोजक तथा वरिष्ठ पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा. मोहन भुसाल ले विश्व चिकित्सा क्षेत्रमा विकसित भइरहेका अत्याधुनिक उपचार प्रविधि र अभ्यासलाई नेपाली चिकित्सकहरूसम्म पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।
उनका अनुसार पेट तथा कलेजोका जटिल रोगहरूको उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न स्वदेशमै विशेषज्ञ सेवा विस्तार, चिकित्सकहरूको क्षमता अभिवृद्धि तथा कम खर्चिलो र प्रभावकारी उपचार प्रणाली विकासमा सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सम्मेलनमा २९ भन्दा बढी विशेषज्ञ चिकित्सकहरूले पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोगको निदान र उपचारसम्बन्धी पछिल्ला वैज्ञानिक विधि तथा अनुसन्धानमाथि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सहभागी चिकित्सकहरूले अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्दै आधुनिक प्रविधिको प्रयोगबारे व्यावहारिक ज्ञान हासिल गर्ने आयोजकको विश्वास छ ।
सम्मेलनलाई Nepalese Society of Gastroenterology (NSG), Lumbini Internal Medicine Society तथा BLK-Max Super Speciality Hospital ले प्राविधिक सहयोग तथा समन्वय गरेका छन् ।
आयोजकका अनुसार सम्मेलनबाट लुम्बिनी प्रदेशको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि हुनुका साथै ग्यास्ट्रो रोग उपचार क्षेत्रमा नयाँ प्रविधि र ज्ञान भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology