Logo

२०८३, आश्विन ९गते


images
images

‘झोले व्यापारी’ नियन्त्रण गर्न रुपन्देहीका फर्निचर उद्योगीको माग

‘झोले व्यापारी’ नियन्त्रण गर्न रुपन्देहीका फर्निचर उद्योगीको माग

images
  • ‘झोले व्यापारी’ नियन्त्रण गर्न रुपन्देहीका फर्निचर उद्योगीको माग
    images
    images

    बुटवल । कानुनी रूपमा उद्योग दर्ता गरेर कर तिर्ने फर्निचर व्यवसायीहरू बजारमा टिक्न संघर्ष गरिरहेका बेला बिना दर्ता घर–घरमा पुगेर काम गर्ने ‘झोले व्यापारी’ तथा मोबाइल मिस्त्रीका कारण उद्योग क्षेत्र संकटमा परेको भन्दै रुपन्देहीमा उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन् ।

    images
    images
    images

    फर्निचर उद्योग संघ रुपन्देहीले आयोजना गरेको “स्थानीय स्तरमा फर्निचर उद्योगको सम्भावना, अवसर र चुनौती” विषयक बहस गोष्ठीमा सहभागीहरूले स्वदेशी उद्योग संरक्षण, अवैध कारोबार नियन्त्रण तथा प्रभावकारी अनुगमनको आवश्यकता औंल्याएका हुन् ।

    images
    images
    images

    संघका अध्यक्ष जीवकान्त काफ्लेले कार्यपत्र प्रस्तुत गर्दै रुपन्देहीमा ९७५ वटा फर्निचर उद्योग दर्ता भए पनि तीमध्ये कति सञ्चालनमा छन् भन्ने यकिन तथ्यांक सरकारी निकायसँग नरहेको बताए । उनका अनुसार दर्ताविहीन मोबाइल मिस्त्री तथा झोले व्यापारीहरूले आधुनिक उपकरण प्रयोग गरी घर–घरमै पुगेर काम गरिरहेका छन्, जसका कारण राज्यले राजस्व गुमाइरहेको र वैधानिक उद्योगहरू प्रत्यक्ष मारमा परिरहेका छन् ।

    images
    images
    images

    “कर तिर्ने उद्योगी र बिना दर्ता कारोबार गर्नेबीचको प्रतिस्पर्धा समान हुन सक्दैन,” काफ्लेले भने, “उद्योग सञ्चालन गर्नेले कर, भाडा, कर्मचारी, विद्युत् र कानुनी प्रक्रिया पूरा गर्नुपर्छ, तर झोले व्यापारीले कुनै दायित्व बिना बजार कब्जा गरिरहेका छन् ।”

    कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कानुनी रूपमा सञ्चालन भएका उद्योगहरूको संरक्षण स्थानीय सरकारको दायित्व भएको बताए । उनले उद्योगीहरूलाई आवश्यक कानुन निर्माणमा सहकार्य गर्न आग्रह गर्दै आगामी बजेटमा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रमको सहजीकरण संस्थाका प्रेस सल्लाहकार प्रदीप आचार्यले गरेका थिए । उनले घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, स्थानीय तह तथा वन कार्यालयसँग उद्योग दर्ता, करको दायरा, अवैध उत्पादन र कच्चा पदार्थ आपूर्तिसम्बन्धी विषयमा प्रश्न उठाएका थिए ।

    घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख शारदा भट्टराईले उद्योगहरूको वास्तविक अवस्था पहिचान गर्न अनुगमन र तथ्यांक अद्यावधिक गर्ने कामलाई तीव्र बनाइने बताइन् । आन्तरिक राजस्व कार्यालयका कर अधिकृत चिरञ्जिवी बश्यालले बिना दर्ता सञ्चालन हुने व्यवसायका कारण राज्यले राजस्व गुमाइरहेको स्वीकार गर्दै त्यस्ता गतिविधिलाई करको दायरामा ल्याउन निगरानी र समन्वय बढाइने बताए ।

    डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले उद्योगीहरूले उठाएको कच्चा पदार्थ अभावको समस्या जायज रहेको बताउँदै वनमा उपलब्ध काठ र उद्योगको मागबीच समन्वय सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।

    बुटवल उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख गुणाखर खनालले १० लाख रुपैयाँसम्मको पूँजी भएका उद्योग पालिकामै दर्ता गर्न सकिने जानकारी दिए । तिलोत्तमा नगरपालिका उद्योग शाखा प्रमुख मुक्तिराम खनालले नयाँ व्यवसाय दर्ताका लागि फर्निचर उद्योग संघसँग समन्वय गरिने बताए ।

    रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारी तथा सार्वजनिक निकायहरू अग्रसर हुनुपर्ने बताए । नेपाली उत्पादनलाई प्राथमिकता नदिई उद्योग संरक्षण सम्भव नहुने उनको भनाइ थियो ।

    महासचिव खिम खड्काको सञ्चालनमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार माधव पौडेलले काठ अभाव र झोले व्यापारीको बढ्दो प्रभावका कारण धेरै उद्योगी मर्कामा परेको बताए । कार्यक्रम संयोजक नेत्र रुचालले यस्ता कार्यक्रमले व्यवसायीमा उत्साह थपेको भन्दै संघले उद्योगीमैत्री गतिविधि निरन्तर सञ्चालन गर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फर्निचर व्यावसायी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।