रिया बस्नेत क्षेत्री, बुटवल । लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरू मतदानको लागि गृहजिल्ला आइपुगेका छन् ।आफ्ना उम्मेदवारलाई जिताउन केही नेताहरू विगत महिना दिनदेखि गृहनगरमा छन् भने केही नेताहरू बिहीवारसम्म जिल्लामा आइपुगेका हुन् । सबै नेताहरूले भोलि (शुक्रवार) बिहान ७ बजे आ-आफ्नाे मतादान केन्द्रमा पुगि स्थानीय तह निर्वाचनमा पहिलाे मतदान गर्दैछन् ।
माओवादीका नेता कृष्णबहादुर महराले रोल्पा नगरपालिका वडा नं. १ स्थित बामरुक तारा माध्यमिक विद्यालय बाट बिहान ७ बजे पहिलाे मतदान गर्दै छन्। अर्का नेता वर्षमान पुन, ओनसरी घर्तीले सोही नगरकै वडा नम्बर ७ माडिचौरको बाल उदय माध्यमिक विद्यालयबाट मतदान गर्नेछन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शुक्रवार बिहान ७ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान स्थलमा मतदान गर्नेछन् । त्यस्तै एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को विश्वशान्ति आधारभुत स्कूलको मतदान स्थलबाट मतदान गर्नेछन् ।
एमाले महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को जनता विद्यापीठ मावि विजौरीमा मतदान गर्नेछन् । एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४ बलेटक्सारको ज्ञवा माविबाट मतदान गर्नेछन् । त्यस्तै एमाले सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिका वडा नम्बर ४ रामराज्य माविबाट मतदान गर्नेछन् ।त्यस्तै एमालेका अर्का सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा ९ को अर्घारजस्थल माविबाट मतदान गर्नेछन् ।
एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले रुपन्देहीको बुटवल ११ को लुम्बिनी वाणिज्य क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
त्यस्तै गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ को ज्योति आधारभूत स्कूलमा पहिलो मतदान गर्नेछन् । कांग्रेसका युवा नेता चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुंगाको जनजागृति माविमा मतदान गर्नेछन् ।
एकीकृत समाजवादीकी सचिव तथा सहरी विकास मन्त्री रामकुमारीले गुल्मीको मदाने गाउँपालिकाको म्यालपोखरी माविबाट मतदान गर्ने भएकी छन् भने अर्का नेता मेटमणि चौधरीले दाङको गढवा गाउँपालिका वडा नं १ बाट मतदान गर्नेछन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology