बर्दघाट । बर्दघाट नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र संस्थागत सुदृढीकरणका लागि नगरपालिका, स्थानीय गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय दातृ निकायबीच त्रिपक्षीय समझदारी भएको छ ।
नगरपालिकाको १८ औँ नगरसभाको पहिलो बैठकका अवसरमा आयोजित समारोहमा बर्दघाट नगरपालिका, समृद्ध समुदाय विकास केन्द्र (एससीडीसी) नेपाल र डेनमार्कस्थित स्कोललिभ इ नेपाल (Skoleliv i Nepal) बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयलाई समेटेर 'बर्दघाटमा गुणस्तरीय शिक्षा र सक्रिय नागरिकता' नामक तीन वर्षे परियोजना सञ्चालन गरिनेछ । सन् २०२६ जुलाई १ देखि सन् २०२९ जुन ३० सम्म सञ्चालन हुने परियोजनाको कुल बजेट ५ करोड ९ लाख २२ हजार ५ सय ५२ रुपैयाँ रहेको छ ।
सम्झौतामा नगरपालिकाका तर्फबाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, एससीडीसी नेपालका तर्फबाट अध्यक्ष ठाकुर घिमिरे र निर्देशक युवराज चापागाईं सहभागी थिए । डेनमार्कस्थित साझेदार संस्था स्कोललिभ इ नेपालका निर्देशक एनी मेटी नोर्डफाल्कले यसअघि नै दस्तावेजमा हस्ताक्षर गरिसकेकी थिइन् ।
परियोजनाअन्तर्गत शिक्षकको क्षमता विकास, सहकार्यात्मक सिकाइ पद्धतिको प्रवर्द्धन, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ तथा बाल क्लबको सुदृढीकरण, विद्यार्थी मूल्यांकन प्रणालीमा सुधार र जोखिममा रहेका बालबालिकाको शैक्षिक पहुँच वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
परियोजनाको मुख्य वित्तीय स्रोत डेनमार्कको सिसु (CISU/Danish Civil Society Fund) रहेको छ । कुल बजेटमध्ये ४ करोड ५५ लाख ५९ हजार ३२ रुपैयाँ एससीडीसी नेपालमार्फत कार्यक्रम सञ्चालन, समुदाय परिचालन र अनुगमनमा खर्च गरिने एससीडीसी नेपालका निर्देशक युवराज चापागाईंले बताए ।
सम्झौतामा बर्दघाट नगरपालिकाले तीन वर्षसम्म विद्यालयका शिक्षकहरूको तालिमका लागि ५३ लाख ६३ हजार ५ सय २० रुपैयाँ लगानी गर्ने जनाइएको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै नगर प्रमुख श्रेष्ठले स्थानीय सरकार विद्यालय शिक्षाको गुणस्तर सुधारमा प्रतिबद्ध रहेको बताउँदै अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय आवश्यकताअनुसार कार्यान्वयन गरिने बताए । एससीडीसी नेपालका अध्यक्ष घिमिरेले परियोजना पारदर्शी र जवाफदेही ढंगले सञ्चालन गर्दै विद्यालयस्तरमै परिवर्तन अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology