काठमाडौं । दलित समुदायको प्रतिनिधित्व, समावेशी सञ्चार र संविधानप्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयनका विषयमा आयोजित कार्यक्रममा वक्ताहरूले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रलाई थप समावेशी बनाउन आवश्यक रहेको बताएका छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलित समुदायले आफ्नो मेहनत, सीप र शिल्पमार्फत नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताइन्। उनले विशे नगर्चीले राष्ट्रिय एकीकरणमा पुर्याएको योगदान तथा कटुवालहरूले सूचना आदानप्रदानमा खेलेको भूमिकाको स्मरण गर्दै सम्मान व्यक्त गरिन्।
पूर्व राष्ट्रपति भण्डारीले संविधानलाई केवल राजनीतिक दस्तावेज नभई दलित समुदायको आत्मसम्मानको दस्तावेजका रूपमा व्याख्या गर्दै संविधानले दलित समुदायलाई विभिन्न अधिकार सुनिश्चित गरेको उल्लेख गरिन्। उनले संवैधानिक तथा कानुनी अधिकार प्राप्त भए पनि कार्यान्वयनमा अझै चुनौती रहेको, विभेदका घटनाहरू अन्त्य हुन नसकेको तथा भूमि र आवासको समस्या समाधान हुन बाँकी रहेको बताइन्।
पत्रकारिता क्षेत्रको समावेशीतामाथि समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सञ्चारमाध्यमहरू दलित समुदायको सहभागिताका दृष्टिले अझै पर्याप्त समावेशी हुन नसकेको बताइन्। श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, पत्रकारहरूको भौतिक सुरक्षाको सुनिश्चितता तथा कलम र आवाजमार्फत विभेदविरुद्धको अभियानलाई सशक्त बनाउन उनले आग्रह गरिन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले दलित पत्रकारहरूलाई संगठित गर्ने कार्य सराहनीय रहेको बताउँदै दलित पत्रकार संघलाई थप सशक्त बनाउन आफू सहयोग गर्न तयार रहेको बताए। उनले दलित समुदाय लक्षित बजेटको प्रभावकारी कार्यान्वयनका लागि एकताबद्ध हुन आग्रह गर्दै दलित अधिकारको कार्यान्वयनमा अझै चुनौती रहेको उल्लेख गरे। दलित समुदायमाथि हुने हिंसाका घटनामा न्यायका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
यस्तै राष्ट्यि दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित आन्दोलनको साझा संगठनका रुपमा संघले काम गरेको बताए । उनले आफूले देशैभरका दलित समुदायका पत्रकारहरुलाई जोड्ने गरी संगठन निर्माण गरेको बताउँदै यस अवधिमा सहयोग गर्नेहरुलाई आभार प्रकट गरे । पहाडीले आफू पत्रकार महासंघमा रहदा समावेशिताको नीतिलाई कार्यान्वयन गराएको बताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारिताको मूल तत्व स्वस्थ सूचना भएको उल्लेख गर्दै अस्वस्थ सूचना प्रवाहको प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे। पत्रकारिता प्रजातन्त्रको प्राण भएकाले यसको विश्वसनीयता जोगाउनुपर्नेमा उनले जोड दिए।
चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठले पत्रकारहरूले सत्यतथ्य सूचना जनतासम्म पुर्याउनुपर्ने बताउँदै दलित पत्रकारहरूको हकहितका लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। दलित तथा महिला समुदायको अधिकार संरक्षण र आयआर्जन अभिवृद्धिका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उनले बताइन्।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारिता क्षेत्रमाथि घेराबन्दी सुरु भएको आरोप लगाउँदै सरकारले पत्रकारितालाई कमजोर बनाउने अभियान थालेको बताए। उत्पीडित समुदायका मुद्दालाई सञ्चारमाध्यमको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले देशव्यापी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।
प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले पत्रकारिताको मूल विषय नै सीमान्तकृत वर्गको आवाज रहेको बताउँदै विभेद अन्त्यका लागि सञ्चार क्षेत्र सधैं सक्रिय रहेको बताए। उनले सामाजिक न्यायको विषय सम्पूर्ण पत्रकारिता क्षेत्र र राष्ट्रकै साझा एजेन्डा बन्नुपर्नेमा जोड दिए। वर्तमान समयमा पनि विभेदका घटनाहरू किन भइरहेका छन् भन्ने विषयमा नयाँ ढंगबाट बहस आवश्यक रहेको उनको भनाइ थियो।
जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विकले संविधानमा लेखिएका अधिकारहरूको कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै राजधानीमा कोठा पाउनसमेत आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए। उनले ग्रामीण क्षेत्रमा अझै गणतन्त्रको अनुभूति हुन नसकेको दाबी गर्दै सरकार अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न अग्रसर भएको आरोप लगाए। दलित समुदायका लागि गणतन्त्र अझै अपुग रहेको उनको भनाइ थियो।
जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले पत्रकारिता क्षेत्र जोखिमपूर्ण बन्दै गएको अवस्थामा दलित पत्रकार संघले दलित समुदायको प्रतिनिधित्वका लागि महत्वपूर्ण भूमिका खेलेको बताइन्। उनले दलित महिलाको आवाज बुलन्द बनाउन संघको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। साथै संविधानप्रदत्त दलित महिला तथा अल्पसंख्यक समुदायका अधिकारहरू कटौती हुने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाको प्रशंसा गरिन्।
कार्यक्रममा स्व। टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु रामप्रसाद आचार्य, जनक सापकोटा र विनोद परियार पुरस्कृत भएका छन् । यसैगरी साहित्यकार मोदनाथ प्रश्रित, पदम सुन्दास, कमला हेमच्युरी, चिन्ता परियार, शुशिला श्रेष्ठलाई विभिन्न क्षेत्रबाट योगदान गरेवापत सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology