काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै बेंगलुरुले उपाधि जितेको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा बेंगलुरुले गुजरातमाथि ५ विकेटको जित हासिल गर्यो । गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
बेंगलुरुको जितका लागि विराट कोहलीले अविजित ७५ रन बनाए । ४२ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै भेनकटेश अय्यरले ३२ रन बनाए ।
गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले १,१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो । गुजरातका लागि वासिङ्टन सुन्दरले सर्वाधिक अविजित ५० रन बनाए । निशान्त सिन्धुले २० तथा जस बट्लरले १९ रनको योगदान गरे ।
गुजरातलाई कम योगफलमा रोक्न बेंगलुरुका लागि रसिख सलामले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । जोश हेजलवूड र भुवनेश्वर कुमारले २, २ तथा क्रुनाल पान्ड्याले १ विकेट लिए ।
यसअघि पहिलो क्वालिफायरमा पनि बेंगलुरुले गुजरातलाई पराजित गरेको थियो । लिग चरणमा पनि बेंगलुरु शीर्षस्थानमा रहेर प्ले अफमा पुगेको थियो ।
बेंगलुरुले गत संस्करणको फाइनलमा पन्जाब किङ्सलाई हराउँदै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो ।
आईपीएलमा लगातार दुई उपाधि जित्ने बेंगलुरु तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए ।
आईपीएलको सर्वााधिक उपाधि जित्नेमा पनि चेन्नई र मुम्बई अगाडि छन् । दुवैले ५,५ पटक उपाधि जितेका छन् । कोलकाता नाइट राइडर्सले ३ पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १,१ उपाधि जितेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology