देवदह । युगज्योति मावि देवदह-६, को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विष्णुप्रसाद न्यौपाने चयन भएका छन् । शिक्षा ऐन २०२८ को दफा १२, उपदफा १ को खण्ड (ग) बमोजिम वि व्य समितिमा मनोनित भएर आउने व्यवस्थालाई सरकारले जारी गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक २०८३’ ले खारेज गरेपछि विद्यालयले आईतवार समिति पुनर्गठन गरेको हो ।
अभिभावकको प्रतिनिधित्व गर्दै निर्वाचित भएर आएका ४ जना मध्येबाट न्यौपानेलाई पुनर्गठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको प्रधानाध्यापक यमलाल अर्यालले जानकारी दिए । यसअघिको व्यवस्थामा २ जना मनोनित सहित ९ सदस्यीय रहेको युगज्योतिको विद्यालय व्यवस्थापन समिति अब ७ सदस्यीय भएको छ ।
समितिका अन्य सदस्यहरुमा कृष्ण प्रसाद काफ्ले, विष्णु रायमाझी, मीना नेपाली, पदेन सदस्यको रुपमा वडा अध्यक्ष खेमबहादुर थापा, सदस्य सचिव विद्यालयका प्र.अ. अर्याल र शिक्षक प्रतिनिधिको रुपमा शिला मल्ल रहेका छन् ।
सरकारले अध्यादेश मार्फत पुरानो व्यवस्था खारेज गरिदिएपछि गत वैशाख २५ गते शिक्षा समन्वय इकाई रुपन्देहीले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर अध्यादेश बमोजिम कायान्वयन गर्न निर्देशन दिएको थियो ।
वडा नं ६ का अध्यक्ष खेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष राधिका अर्याल, देवदह आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष राजन अधिकारी लगाएतले बोल्दै न्यौपाने नेतृत्वको समितिलाई शुभकामना दिएका थिए ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology