देवदह । देवदह इङ्लिस बोर्डिङ हाई स्कुल, देवदह-७ मा ‘सफल अभिभावकत्व एक अभियान’ विषयक एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ । विद्यार्थी र अभिभावक बीचको सम्वन्ध सुमधुर बनाउन र विद्यार्थीको रुचीप्रति अभिभावकलाई सचेत बनाउन प्रशिक्षण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा अभिभावकलाई प्रशिक्षण दिँदै सकारात्मक सोँच सम्बन्धि प्रशिक्षक डा. ताराप्रसाद गिरीले अभिभावकको व्यवहारले बालबालिकाको स्वभाव आनीबानीमा प्रभाव पार्ने भन्दै बालबालिका मैत्री घरपरिवार र अभिभावक नै अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
बालबालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक बाबु आमा भएको भन्दै उनले असल शिक्षा प्रदान गर्नको लागि अभिभावक जहिलेपनि सकारात्मक बन्न सक्नुपर्नेमा जोड दिए । ‘बालबालिका २४ घण्टामा १८ घण्टा अभिभावकसँग घरमा रहन्छ, उनीहरु मात्र ६ घण्टा विद्यालयमा हुन्छन्, तर हामिले बालबालिका बिग्रनुमा शिक्षक र विद्यालयलाई दोष दिने गर्छौं ।’ उनले भने, ‘घरमा बालबालिका अभिभावकसँग जति घुलमिल हुन सक्यो, त्यतिनै उनीहरुमा सकारात्मकता विकसित हुने गर्दछ ।’

अभिमुखीकरण समापन कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक एवम् कार्यकारी अध्यक्ष विष्णुप्रसाद पौडेलले विद्यालय, विद्यार्थी, अभिभावक र शिक्षक बीचको सहकार्यले मात्र शिक्षाको गुणस्तरीयता प्राप्त हुने बताए । देवदह बोर्डिङ स्कूल यस क्षेत्रकै अग्रणी शैक्षिक सस्ंथा भएको उल्लेख गर्दै उनले त्यसको गरीमा कायम गर्न पनि अभिभावक सचेतनाका कार्यक्रमहरु आवश्यक रहेको औंल्याए ।
विद्यालयका प्रिन्सिपल मनोज कुमार गैरेको स्वागत र सहायक प्रिन्सिपल विष्णुप्रसाद अर्यालको सञ्चालनमा भएको कार्यक्रममा ४ सय बढि अभिभावकहरुको सहभागिता रहेको कार्यवाहक प्रिन्सिपल मनबहादुर क्षेत्रीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology