कमल रायमाझी, भैरहवा । हज तथा उमराहका लागि साउदी अरब पुगेका रुपन्देहीका नेपाली मुस्लिम तीर्थालुहरू खाडी क्षेत्रमा बढेको तनावका कारण स्वदेश फर्किन नपाएर अलपत्र परेका छन् । उडान अवरुद्ध भएपछि उनीहरू हाल साउदी अरबको मदिना शहरमा बसिरहेका छन् ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–४ निवासी ताहिर अलीसहित ३६ जना नेपाली मुस्लिम तीर्थालु १५ दिने प्याकेजमा हज तथा उमराहका लागि साउदी अरब पुगेका थिए । उनीहरू ३ मार्च २०२६ मा हवाईमार्गबाट नेपाल फर्किने तयारीमा रहेका बेला खाडी क्षेत्रमा इरान र अमेरिका बीच बढेको तनावका कारण उडान रोकिएपछि त्यहीँ रोकिएका हुन् ।
तीर्थालुहरूका अनुसार निर्धारित समयमा स्वदेश फर्किन नसक्दा उनीहरू समस्यामा परेका छन् । ताहिर अलीले पठाएको सन्देशमा आफूहरू मदिना शरीफमा बसिरहेको र स्वदेश फर्किने उडानको प्रतीक्षामा रहेको बताएका छन् ।
“नेपालबाट उमराह–हजका लागि आएका हामी ३६ जना तीर्थालु ३ मार्चमा फर्किने तयारीमा थियौँ । तर खाडी क्षेत्रमा युद्ध सुरु भएपछि हाम्रो उडान रोकियो । अहिले हामी मदिना शरीफमा अलपत्र परेका छौँ,” उनले भने ।
उनका अनुसार तीर्थालुहरू त्यहाँस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहे पनि हालसम्म उद्धारका लागि ठोस पहल नभएको गुनासो गरेका छन् ।
नेपालबाट गएका अन्य दुई समूहका करिब २० जना तीर्थालु पनि सोही क्षेत्रमा रोकिएको उनले जानकारी दिए ।
अलपत्र परेका तीर्थालुहरूले नेपाल सरकारसँग यथाशीघ्र उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । युद्धका कारण उडान अवरुद्ध हुँदा बसोबास तथा दैनिक व्यवस्थापनमा कठिनाइ भएको उनीहरूको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology