Logo

२०८३, श्रावण २७गते


images
images

कुलमानको उज्यालो चिम चुनावमा कति चम्केला ?

कुलमानको उज्यालो चिम चुनावमा कति चम्केला ?

images
  • कुलमानको उज्यालो चिम चुनावमा कति चम्केला ?
    images
    images

    काठमाडौँ । नेपाललाई दशकौँ लामो अन्धकारबाट बाहिर निकालेर 'लोडसेडिङ मुक्त गर्ने नायक' को छवि बनाएका कुलमान घिसिङ अहिले राजनीतिको एउटा नयाँ र पेचिलो मोडमा उभिएका छन् ।

    images
    images
    images

    हिजोका 'विद्युत् व्यवस्थापनका कुशल कमाण्डर' आज एउटा 'राजनीतिक खेलाडी' को रूपमा उत्रिएका छन्, जहाँको मैदान र नियमहरू उनले सम्हालेको प्राधिकरणको भन्दा सर्वथा भिन्न छन् । सफलताको शिखरबाट राजनीतिको अनिश्चित गोरेटोमा उनको यो छलाङले के प्रशासनिक क्षेत्रको नायकत्वले राजनीतिको सामूहिक र जटिल धरातलमा पनि उस्तै जादु देखाउन सक्ला ? भन्ने प्रश्न उठाएको छ ।  

    images
    images
    images

    कुलमानले आफ्नो राजनीतिक अस्तित्वलाई 'उज्यालो नेपाल पार्टी' मार्फत संस्थागत गर्ने प्रयास गरेका छन् । उनले प्रत्यक्षतर्फ आफ्नै दलको चुनाव चिन्ह 'चिम' रोजेर चुनावी मैदानमा आफ्नो व्यक्तिगत प्रभाव परीक्षण गरिरहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको असफल सहकार्यपछि आफ्नो दलको समानुपातिक उम्मेदवारी नै दर्ता गर्न नपाएपछि कुलमानले राष्ट्रिय परिवर्तन पार्टी' सँग सहकार्य गर्दै समानुपातिकतर्फ भने 'बाँसुरी' चिन्हमा चुनावी मैदानमा रहेका छन् ।

    images
    images
    images

    कुलमानको राजनीतिक यात्राको सबैभन्दा ठूलो धक्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहसँगको सहकार्यमा देखियो । चुनावको मुखैमा भएको यो सहकार्य मात्र १२ दिनमा टुंगिनुले उनको राजनीतिक यात्रामा ठूलो धक्का लागेको छ । यो असफल सहकार्यले उनको राजनीतिक अपरिपक्वता र स्थिरतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । यो संक्षिप्त सहकार्यको असफलताले चुनाव अगाडि नै उनको 'राजनीतिक अजयता' को भ्रमलाई मात्र तोडेन, बरु उनलाई एउटा अस्थिर राजनीतिक पात्रको रूपमा चित्रित गरिदियो । निर्वाचनको संघारमा भएको यो घटनालाई उनले राजनीतिक विश्वासघात भनेका छन् र मतदातामाझ यहि कुरालाई बुझाउने प्रयास गरिरहेका छन् । 

    राजनीतिको अनिश्चितताका बीच पनि कुलमानसँग यस्ता केही 'पूँजी' छन्, जसले उनलाई अन्य परम्परागत नेताहरू भन्दा भिन्न देखाउँछन् । देशलाई कहालीलाग्दो अन्धकारबाट मुक्त गराएको उनको योगदान नै उनको राजनीतिको मुख्य जग हो । उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको रूपमा काम गर्दा उनले कुनै पनि सरकारी योजनालाई परिणाममुखी बनाउन सक्ने आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । अनुभवी राजनीतिक नेतृत्वको संगतमा रहेर उनले सत्ता र शक्तिका दाउपेचहरू नजिकबाट बुझेका छन्, जसले उनलाई राजनीतिको जटिलता बुझ्न मद्दत गरेको छ । उनी केवल भाषणमा मात्र सीमित नभई ठोस भौतिक पूर्वाधार र विकासको एजेन्डामा केन्द्रित देखिन्छन् ।

    यसका बाबजुत पनि कुलमानका अगाडी उनकै केहि शैली र काम गर्ने तरिका बाधक बन्ने देखिएको छ ।  कुलमानको व्यक्तित्व जति उज्यालो छ, त्यसको अर्को पाटो उत्तिकै चुनौतीपूर्ण देखिन्छ । विश्लेषकहरूका अनुसार उनीमा 'आफू बाहेक अरुले परिवर्तन ल्याउन सक्दैनन्' भन्ने खालको चरम व्यक्तिवादी सोच हावी छ । उनी टोलीमा काम गर्न त रुचाउँछन्, तर त्यहाँको नेतृत्व सधैं आफ्नै हुनुपर्ने अडानले गर्दा नै बालेन र रास्वपासँगको १२ दिने सहकार्य दुर्घटनामा परेको देखिन्छ ।

    सिमित घेरामा रमाउने उनको स्वभाव र पदप्रतिको उच्च महत्वाकांक्षाले उनलाई सामूहिक नेतृत्वको अभ्यासमा कमजोर बनाएको छ । अझ, ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री हुँदा उनको 'विवादित र शंकास्पद भूमिका' ले उनको स्वच्छ छविमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ, जुन उनको राजनीतिक भविष्यका लागि एउटा ठूलो अवरोध बन्न सक्छ ।

    कुलमान घिसिङले प्रशासनिक क्षेत्रमा जति सहजै जनलहर प्राप्त गरे, राजनीतिक मैदानमा भने उनी त्यस्तो प्रभावकारी 'माहोल' बनाउन असफल देखिएका छन् । १२ दिनमै सहकार्य तोडिनु र व्यक्तिवादी सोचका कारण उनको चुनावी अभियानलाई केही अलमलमा पारेको देखिन्छ । हिजो लोडसेडिङ अन्त्य गर्दा चम्किएको उनको 'चिम' राजनीतिको यो चुनावी भुमरीमा उत्तिकै चम्किने हो वा निभ्ने हो, त्यो प्रतिक्षाको विषय छ ।

    अन्त्यमा, कुलमानको यो प्रशासनबाट राजनीतिमा आएको छलाङले के प्रशासनिक क्षेत्रमा सफल व्यक्ति राजनीतिको चुनौतीपूर्ण र सामूहिक नेतृत्व चाहिने मैदानमा उत्तिकै सफल हुन सक्लान् ? यसको उत्तर केवल मतदाताको विवेक र समयको गर्भमा लुकेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।