काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक गरिएको बीबीसीको भदौ २३ र २४ को जेनजी आन्दोलन बारेको डकुमेन्ट्रीप्रति टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले उक्त सामग्री सामान्य सञ्चार सामग्री मात्र नभई भूराजनीतिक गतिविधिसँग जोडिएको विषय हुन सक्ने बताएका छन् । नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनले बताएका छन् ।
निर्वाचनजस्तो संवेदनशील समयमा यस्तो सामग्री सार्वजनिक हुनु संयोग मात्र हो वा योजनाबद्ध हस्तक्षेप भन्ने विषय गम्भीर रूपमा विचार गर्नुपर्ने उनको भनाई छ । उनले भनेका छन्- 'नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ।'
उनले लोकतन्त्रको रक्षा नेपाली जनताले स्वयं गर्नुपर्ने, राष्ट्रिय सार्वभौमिकता सबैको साझा जिम्मेवारी भएको तथा सूचना स्वतन्त्र भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् ।
साथै उनले नेपाललाई भूराजनीतिक दबाब वा प्रचारको माध्यम बन्न नदिन सबै सचेत हुन, तथ्य जाँच्न र राष्ट्रिय हितको पक्षमा उभिन आग्रह समेत गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology