देवदह । धनुषवाण भन्नेबित्तिकै धेरैलाई महाभारतका अर्जुनको सम्झना आउँछ । उनी धनुर्विद्यामा निपूर्ण थिए । अचूक निसाना लगाउन सक्ने उनको दृष्टिलाई बिम्बित गर्दै 'अर्जुनदृष्टि' भन्ने शब्द आम प्रचलनमा छ ।
धार्मिक ग्रन्थमा धनुष, धनुषविद्या र त्यसको कौशलका कथाहरू प्रशस्त भेटिन्छन् । युद्धका मैदानमा शत्रुलाई परास्त गर्न होस् वा जंगलमा शिकार गर्न प्रयोग हुने धनुष, हतियार मात्र थिएन । त्यसमा धैर्य, लक्ष्यप्रति अटलता र अभ्यासको संस्कार जोडिएको हुन्थ्यो । समय फेरियो । आज त्यो परम्परा खेलको रूपमा विकसित भइरहेको छ ।
यही ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिलाई आधुनिक खेलसँग जोड्दै रुपन्देहीको देवदहमा विगत चार दशकदेखि धनुषवाण खेल हुँदै आएको छ । वि. सं. २०४० देखि नै अग्रजहरुले देवदहमा यो खेल खेल्दै आएको देवदह आर्चरी क्लबका अध्यक्ष लक्ष्मण सिंकिजा बताउँछन् । 'हामी भर्खरै किशोरावस्थामा प्रवेश गर्दै थियौं । अग्रज दाईहरु यो खेल खेल्नु हुन्थ्यो । उहाँहरुले सुरु गरेको त्यहि परम्परालाई समय अनुसार परिस्कृत गर्दै हामीले निरन्तरता दिएकाछौं' अध्यक्ष सिंजिकाले भने ।
२०६० बाट नै आफुहरुले धनुषवाण खेललाई प्रतियोगिताको रूपमा सुरु गरेको र २०८० मा देवदह आर्चरी क्लब गठन गरि संगठित रूपमा धनुषकलालाई प्रोत्साहित गर्दै आएको उनको भनाइ छ ।
हरेक वर्ष कार्यक्रम गर्दै आएको क्लबले शनिवारदेखि देवदहमै तीनदिने प्रतियोगिता सुरु गरेको छ । प्रतियोगितामा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कपिलवस्तु, रुपन्देही र नवलपरासीका ७० जना खेलाडी सहभागी छन् ।
सैनामैना आर्चरी क्लब, अरनिको आर्चरी, थकाली सेवा समिति, गुल्मी झापाक आर्चरी क्लब, छन्त्याल आर्चरी क्लब लगायतले प्रतियोगितामा संस्थागत रुपमै सहभागिता जनाएका छन् ।
प्रतियोगितालाई खेलप्रेमी नरेश्वर पुन, देवदह नगरपालिका वडा नं ५, बुद्ध सामुदायिक वन, पाल्पा सिमेन्ट लगायतले सहयोग गरेको क्लबका कोषाध्यक्ष रिम गुरुङले बताए ।
आफुहरुले यस प्रतियोगितालाई राष्ट्रियस्तरको प्रतियोगिता बनाउने गरी तयारी गरेको र त्यसको लागि देवदह नगरपालिकासंग सहयोगको अपेक्षा गरिएको क्लबका सचिव कृष्ण तिवारीको भनाइ छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धित्तीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने उपाध्यक्ष थक बहादुर पुनले जानकारी दिए । उत्कृष्ट खेलाडी र उत्कृष्ट शटका लागि पनि नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology