देवदह । गत निर्वाचनको आधारमा नेकपा एमाले देशको दोस्रो ठूलो राजनीतिक दल हो । देशभर रहेको बलियो संगठन र सक्रिय कार्यकर्ताहरुको पंक्ति एमालेको शक्ति हो । एमालेको वडा तहसम्म संगठन मात्रै छैन, भएको संगठन पूर्ण रूपमा जीवित र क्रियाशील छ ।
रुपन्देही क्षेत्र नं १ मा पनि एमालेको संगठन देशका अन्य भागमा जस्तै मजबुत र पूर्ण रुपमा परिचालित देखिन्छ । यहाँ एमालेका दुई हजार आठ सय बढी क्रियाशील सदस्य छन् । क्षेत्रमा पर्ने देवदह, तिलोत्तमा, रोहिणी र ओमसतियाका ३३ वटा वडा मध्ये १० वटा वडामा एमालेबाट निर्वाचित वडा अध्यक्षहरु छन् ।
देवदहमा एमालेले नगरप्रमुख र उपप्रमुखसहित ५ वटा वडा अध्यक्ष जितेको छ भने तिलोत्तमा पनि उपप्रमुखसहित पाँच वटा वडामा जित हासिल गरेको छ । ओमसतियामा पालिका अध्यक्ष जितेको एमालेले कुनै पनि वडामा जीत हासिल गर्न सकेन । रोहिणी गाउँपालिकाको कार्यपालिकामा भने एमालेको उपस्थिति शुन्य छ ।
विगतका निर्वाचनहरुको नतिजा विश्लेषण गर्दा रुपन्देही-१ मा एमालेको आजसम्म एकल रुपमा निर्वाचन जितेको इतिहास छैन । यसअघिका दुई निर्वाचन लगातार छविलाल विश्वकर्माले जितेको भएपनि उनी एमालेका मात्र उम्मेदवार थिएनन् । वि. सं. २०७४ मा एमाले र तत्कालिन माओवादीको वामगठबन्धन'बाट निर्वाचन जितेका उनलाई २०७९ सालमा आउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको सहारा लिनुपर्ने अवस्था आयो । यसरी दुवै पटक छविलाल विश्वकर्माले गठबन्धनको आडमा निर्वाचन जिते ।
२०७४ मा वामगठबन्धनले प्रतिनिधि सभा मात्र होइन, प्रदेश सभाका रुपन्देही-१ 'क' र 'ख' दुवै क्षेत्रमा समेत जीत हासिल गरेको थियो । जसमा १ 'क' बाट एमाले नेता डा. कृष्ण प्रसाद न्यौपाने (सूर्य) र १ 'ख' बाट तत्कालिन माओवादी नेता दधिराम न्यौपाने (गोलाकारभित्रको हसियाँ हथौडा) ले जीत हासिल गरेका थिए ।
२०७९ मा आउँदा रुपन्देही-१ मा एमाले-राप्रपा गठबन्धन बन्यो । प्रतिनिधि सभामा छविलाल विश्वकर्मा दोहोरिए भने प्रदेश सभा तर्फ १ 'क' मा राप्रपाका आशिष कुमार चौधरी (हलो) र १ 'ख' दधिराम न्यौपाने (सूर्य) उम्मेदवार बने । छविलालले संयुक्त गठबन्धन (कांग्रेस-माओवादी-समाजवादी)का घनश्याम भुसाललाई पराजित गरे । यता प्रदेश सभा तर्फ १'क' मा राप्रपाका चौधरीले निर्वाचन जिते भने १'ख' मा न्यौपानेलाई पराजित गर्दै 'कांग्रेस-माओवादी-समाजवादी' गठबन्धनका अब्दुल रज्जाक विजयी भए । रुपन्देही १'ख' मा कांग्रेस नेता रज्जाकले पराजित गरेका उनै न्यौपाने यतिवेला एमालेबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।
रुपन्देही -१ को तीन दशकको इतिहास हेर्दा यस क्षेत्रमा एमालेलाई निर्वाचन जित्न 'टेको' अनिवार्य छ । २०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका दुर्योधन सिंह चौधरीले निर्वाचन जिते । उनले ९,९२५ मत प्राप्त गर्दै एमालेका उम्मेदवार भिम नारायण थारुलाई पराजित गरे । झिनो मतले पराजित भएका निम नारायणले ९,४१८ मत प्राप्त गरेका थिए ।
२०५१ को निर्वाचनमा पनि एमाले उपविजेता मै सिमित हुन पुग्यो । १२,८१९ मत प्राप्त गर्दै दुर्योधन सिंह पुन: सांसद बने भने एमालेका घनश्याम भुसालले ११,२४३ मत प्राप्त गर्दै उपविजेता बने । तत्कालिन अवस्थामा यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले ९,१४९ मत प्राप्त गरेका थिए ।
२०५६ को आम निर्वाचनमा काँग्रेसका सिंहले हाट्रिक गरे । १३,०९२ मत प्राप्त गर्दै उनी तेस्रो पटक विजयी भए । यो पटक यस क्षेत्रमा एमालेलाई राप्रपाका दीपक बोहराले उपविजेता बन्न पनि दिएनन् । बोहराले १२,७७१ मत प्राप्त गरे । एमालेका तत्कालिन उम्मेदवार घनश्याम यादव अहिर (जो अहिले नेकपाको उम्मेदवार छन्) ले ११,४३९ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाए ।
२०६४ को संविधान सभा निर्वाचनमा यस क्षेत्रमा तत्कालिन माओवादीले निर्वाचन जित्यो । २०५६ मा एमालेबाट उम्मेदवार बन्दा तेस्रो भएका उनै घनश्याम यादव अहिरलाई माओवादीबाट उम्मेदवार बन्दा १२,६२४ प्राप्त भयो र उनी विजयी भए । २०६४ मा नेपाली काङ्ग्रेसका अब्दुल रजाकले ११,००३ मत प्राप्त गरे भने एमालेका बाबुराम चौधरीले १०,६३० र राप्रपाका दीपक बोहराले ७,५३६ मत प्राप्त गरे ।

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा काङ्ग्रेसका अब्दुल रजाकले यस क्षेत्रबाट निर्वाचन जिते । रज्जाकले १४,४०० मत प्राप्त गर्दा एमालेका छविलाल विश्वकर्मालाई १४,१९६ मत प्राप्त भयो । २०६४ मा निर्वाचन जितेको माओवादी तेस्रो स्थानमा खुम्चियो । माओवादीका देवेन्द्रनाथ पाण्डेले मात्र ७,४४४ मत प्राप्त गरे ।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनका उम्मेदवार छविलाल विश्वकर्माले भारी मतान्तरले निर्वाचन जिते । विश्वकर्माले ३४,७५२ मत प्राप्त गर्दा कांग्रेस अब्दुल रज्जाकले २६,८८५ मत प्राप्त गरे । १२,७६४ मत प्राप्त गर्दै तत्कालिन सङ्घीय समाजवादी फोरम, नेपालका उम्मेदवार विद्याप्रसाद यादव तेस्रो हुन पुगे ।
२०७९ मा मुख्य राजनीतिक दल पूर्ण/आंशिक गठबन्धन सहित चुनावमा होमिए । रुपन्देही-१ मा एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बनेका छविलाल विश्वकर्मा निर्वाचित भए । विश्वकर्माले २४,८८२ मत प्राप्त गर्दा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी समर्थित स्वतन्त्र उम्मेदवार घनश्याम यादवले २१,३१८ मत प्राप्त गरे । २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले १४,१४५ मत प्राप्त गरे भने तत्कालिन नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १३,९६२ र जनमत पार्टीका कैलाश गुरुङले ५,१६९ मत प्राप्त गरे ।
एमालेबाट यस क्षेत्रमा उम्मेदवार बनेका अधिकांश नेता यतिवेला एमालेमा छैनन् । २०४८ सालका उम्मेदवार भिम नारायण थारु र २०६४ सालमा निर्वाचन लडेका बाबुराम चौधरीको निधन भइसकेको एमाले नेता डा. कृष्ण प्रसाद न्यौपानेले बताए । २०५१ सालमा निर्वाचन लडेका घनश्याम भुसाल र २०५६ सालका उम्मेदवार घनश्याम यादवले एमाले छोडिसकेका छन् । भुसाल नयाँ पार्टी बनाएर फरक राजनितिमा सक्रिय छन् भने यादव नेकपाबाट यसै क्षेत्रमा उम्मेदवार छन् ।
एमालेलाई यस क्षेत्रमा पहिलो जीत दिलाउने पार्टी केन्द्रिय सचिवसमेत रहेका पुर्व सांसद छविलाल विश्वकर्माले दधिराम न्यौपानेको चुनावी अभियानलाई निर्देश गरिरहेका छन् । उनको नेतृत्वमा निर्देशक समिति बनेको छ । जसको सहसंयोजकमा लुम्बिनी प्रदेश सभाका पुर्व सांसद डा. कृष्ण प्रसाद न्यौपाने रहेका छन् ।
यता २०७९ को चुनावमा सक्रिय पार्टीका तत्कालिन क्षेत्रीय इन्चार्ज बेद गिरी पनि अहिले निष्क्रिय छन् । उनले जेनजी आन्दोलनको क्रममा दल त्यागको घोषणा गरेपछि पुन: सक्रिय बनेका छैनन् ।
यतिबेला पार्टीका क्षेत्रीय संयोजक प्रकाश अर्यालको नेतृत्वमा चुनावको मूल परिचालन समिति क्रियाशील छ ।
नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही क्षेत्र नं १ मा उम्मेदवार बनाएका सुनिल लम्साल पुर्व एमाले कार्यकर्ता हुन् । हाल रास्वपाको केन्द्रीय महामन्त्रीसमेत रहेका उनी एमाले निकट विद्यार्थी संगठन अखिलबाट रुपन्देहीको लुम्बिनी इञ्जिनियरिङ्ग क्याम्पस (लेक) मा स्ववियु सभापति बनिसकेका पात्र हुन् । त्यतिमात्र होइन, उनकी आमा जानुका लम्साल एमालेको पुर्व जिल्ला स्तरिय नेत्री हुन् । उनले सुनिल लम्सालले प्रतिनिधि सभा सदस्य पदमा मनोनयन दर्ता गरेको दिनमात्र पार्टी छोडेको घोषणा गरेकी थिइन् ।
यता रास्वपाले समानुपातिक सूचीमा राखेकी श्रद्धा कुँवर पनि पुर्व एमाले कार्यकर्ता हुन् । देवदह निवासी उनी जेन्जी आन्दोलनसम्म एमाले निकट युवा संघको केन्द्रिय समितिमा क्रियाशील थिइन् । उनका बुवा गुमानसिङ कुँवर देवदहका प्रभावशाली एमाले नेता हुन् । छोरीका कारण उनी निष्क्रिय बसेको खण्डमा पनि एमालेलाई केही क्षति हुने देखिन्छ ।
उल्लेखित तथ्यांकले एमाले उम्मेदवार दधिराम न्यौपाने दबाबमा देखिन्छन् । तर राजनीति सधै सिधा रेखामा हिड्दैन । राजनीतिमा केही असम्भव पनि हुँदैन । हरेक चुनौतीलाई अवसरमा बदल्ने साहस राजनीतिक दल र तिनका नेता गर्छन र गर्नैपर्छ । माओवादी आन्दोलनको पृष्ठभुमि भएका दधिराम न्यौपानेलाई विगतका असफलताको सिढी चढ्दै सफलताको ढोका खोल्ने अवसर छ ।
सबै राजनीतिक दल विना गठबन्धन आफ्नै बलबुतामा निर्वाचनमा होमिएको बेला दधिरामलाई यस क्षेत्रमा एमालेको पुरानो इतिहास तोड्दै नयाँ रेकर्ड राख्ने ऐतिहासिक अवसर छ । उनले कस्तो रणनीति बनाउँछन् ? कसरी पार्टी पंक्ति परिचालन गर्छन र कस्ता एजेन्डा लिएर जनतामाझ पुग्छन भन्नेले यसको छिनोफानो गर्ने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology