देवदह । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशमा विदेशी शक्तिको चलखेल बढेको बताएका छन् । सोमवार देवदहमा क्षेत्रीय निर्वाचन कार्यालय उद्घाटन गर्दै अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा मात्र जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा दृढतापुर्वक अडान लिने दल भएको बताए ।
जनता सचेत नहुँदा दल र कर्मचारी भ्रष्टाचारमा लिप्त भएको उल्लेख गर्दै अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चामात्र भ्रष्ट्राचार र राष्ट्रघात नगर्ने पार्टी रहेको दावी गरे । 'आखाँको नानी सानो हुन्छ तर संसार देख्न सक्छ ।' अध्यक्ष केसीले भने, 'राष्ट्रिय जनमोर्चाले सानो छ, यसलाई भोट हालेर मत खेर नफाल भन्नेहरू आउन सक्छन । यो भ्रष्टाचार र राष्ट्रघात नगर्ने पार्टी हो । नझुक्किनु होला ।'
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै केसीले नयाँ राजनीतिक दलहरु विदेशी शक्तिबाट परिचालित भएको आरोप लगाए । 'कांग्रेस, एमाले र माओवादी भ्रष्ट भएपनि लोकतन्त्रको लागि लडेका शक्ति हुन् तर विचार र सिद्धान्त नै नभएकाहरु अहिले राजनीतिमा आएका छन् । तिनले जिते देशमा विदेशी हस्तक्षेप झनै बढ्छ ।' उनले भने ।
कार्यक्रममा राजमोका रुपन्देही क्षेत्र नं १ का उम्मेदवार हरी केसी, पार्टीका जिल्ला निर्वाचन मूल परिचालन समिति संयोजक लिलबहादुर केसीसहित राजमो नेताहरु शिवराम घिमिरे, कविराज गिरी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology