विष्णु पोखरेल, पाल्पा । स्थानीय चुनावको सरगर्मी बढ्दो छ । सडक, चोकदेखि चियापसल सबैतिर चुनाव कै चर्चा छ । राजनीतिक कार्यकर्ता होउन् या स्वतन्त्र नागरिक सबैलाई चुनावले छोएको छ । चुनावी मौसमको सुरुवातसंगै को उम्मेदवार बन्छ र कसले बाजि मार्छ भन्नेसम्मका आंकलन पनि हुँदै आएका छन् ।
यसैक्रममा पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा क्रियाशिल राजनीतिक दलका शिर्ष नेताहरूलाई हामीले चुनावी तयारी र सम्भावित उम्मेदवारसंगै कस्ले जीत हात पार्ने सम्भावना छ भन्नेसम्मका विषयमा कुराकानी गरेका छौँ ।
एक्लै पनि जित्न सकिन्छ तर माओवादीसंग तालमेलको सम्भावना छ : नेकपा एमाले
सेतोमसीसंग कुरागर्दै रैनादेवी छहरा गाउँपालिकाका नेकपा एमालेका अध्यक्ष रामप्रसाद ज्ञवालीले एमालेले रैनादेवीमा एकल प्यानलमै निर्वाचन लडेपनि जित्ने सम्भावना बलियो भएको बताए । क्रियाशिल दलहरूमा जनमतका हिसाबले सबैभन्दा ठूलो दल एमाले नै भएको दावी गर्दै उनले जीतको सुनिश्चतता गर्न चुनावी तालमेल पनि हुन सक्ने बताए ।
ज्ञवालीका अनुसार राष्ट्रिय राजनीतिमा जे जस्तो भएपनि स्थानीयस्तरमा एमाले र माओवादी केन्द्रको सम्बन्ध राम्रो छ । उनले भने, 'अहिले नै निर्णय त भएको छैन, तर पनि माओवादीसंग चुनावी एकताको सम्भावना छ ।'
एमालेबाट पालिका अध्यक्षको उम्मेदवार को हो भन्ने प्रश्नमा ज्ञवालीले रामप्रसाद राउत र आफू स्वयंमध्य एक जना अध्यक्षको उम्मेदवार हुने बताए । 'अहिले देखिएको हामी नै हो । पार्टीले पनि यहीँ वरिपरिबाट निर्णय गर्छ जस्तो लाग्छ', उनले भने ।
जीत सुनिश्चितताका लागि गठबन्धन हुन सक्छ : नेपाली कांग्रेस
त्यसैगरी, नेपाली कांग्रेसका पालिका सभापति विष्णुप्रसाद पोखरेलले रैनादेवीको १ नं. पार्टी नेपाली कांग्रेस भएको बताए । उनले भने, 'जनमतका हिसाबले हामी नै पहिलो दल हो । हामी सहजै जीत हासिल गर्न सक्छौं ।'
तपाईंहरू एक्लै चुनाव जित्न सक्नुहुन्छ कि गठबन्धन पनि गर्नुपर्छ भन्ने प्रश्नमा पोखरेलले भने, 'चुनाव हो, आवश्यकता अनुसार गठबन्धन पनि हुन सक्छ तर एक्लै भिड्न परे पनि हामी तयार नै छौँ ।'
पालिका अध्यक्षमा नेपाली कांग्रेसबाट आकांक्षीहरू धेरै भएपनि पार्टीको निर्णय सबैले मान्ने र एकढिक्का भएर कांग्रेस चुनावमा होमिने उनको भनाइ छ । उनका अनुसार राम बहादुर कार्की, विष्णुप्रसाद पोखरेल, लक्ष्मण रायमाझी, रुक्मांगद भट्टराई, शंकर रायमाझी लगायत पालिका अध्यक्षमा उम्मेदवार बन्न आकांक्षी छन् । पार्टीले अन्य निर्णय नगरेको खण्डमा यहि सूचीभित्रैबाट उम्मेदवार बन्ने उनको भनाइ छ ।
निर्णायक शक्ति : माओवादी केन्द्र
रैनादेवी छहराको निर्णायक शक्तिको रुपमा रहेको नेकपा माओवादी केन्द्रले पनि स्थानीय चुनावमा आफ्नो पार्टीले सशक्त उम्मेदवार उठाउने र जीत हासिल गर्ने बताएको छ । सेतोमसीसंग कुरा गर्दै पालिका पार्टी अध्यक्ष तुलाराम गरंजाले हिजो भन्दा आज पार्टीको उपस्थिति राम्रो भएको बताए ।
पार्टीले चुनावी तयारी गरिराखेको गरम्जाको भनाई छ । उम्मेदवारको संदर्भमा पार्टी बैठकले गर्ने निर्णय नै अन्तिम हुँने बताउँदै गरम्जाले यसबारे आफू अहिले नै मिडियामा बोल्न नमिल्ने बताए ।
स्थानीयका राजनीतिकर्मीहरूका अनुसार कृष्ण भण्डारी, युवराज थापा, एस कुमार, सोम बहादुर दर्लामी लगायतका माओवादी नेताहरू पालिका अध्यक्षको उम्मेदवारका आकांक्षी रहेका छन् ।
हामी कमजोर छैनौं : एकीकृत समाजवादी
त्यसैगरी भर्खरै नेकपा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजबादीको समेत रैनादेवी छहरामा आफुहरू कमजोर नरहेको र राम्रै उपस्थिति रहेको समाजवादीका पालिका अध्यक्ष महेश बरालले बताए ।
चुनावी सन्दर्भमा गठबन्धन भए सोही अनुसार आफुहरू सहमतिमा जान तयार रहेको बताउँदै पालिका अध्यक्ष बरालले एक्लै लड्नुपरे पनि आफुहरू तयार रहेको बताए ।
समाजवादीवाट शंकर घर्ती, झलक बहादुर रायमाझी, देवी प्रसाद पौडेल, धनबहादुर रायमाझीमध्यबाटै पालिका अध्यक्षको उम्मेदवार बन्ने सम्भावना रहेको उनले बताए ।
१७५.८८ बर्गकिलोमीटर क्षेत्रफल रहेको रैनादेवी छहरा गाउँपालिकामा ८ वटा वडा रहेका छन् । उक्त पालिकामा राप्रपा, राष्ट्रिय जनमोर्चा र जनमुक्ति पार्टी लगायतका दलहरू समेत कृयाशिल रहेको छन् ।
जनगणना २०७८ को तथ्यांक अनुसार पालिकाको कुल जनसंख्या २६४०० रहेको छ भने जम्मा मतदाताको जनसंख्या २० हजार ७ सय रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology