देवदह । सृष्टि सामुदायिक वन उपभोक्ता समूह देवदह-४ ले ग्रीनरी पार्क निर्माणको लागि गुरुयोजना निर्माण गरेको छ । वनको २६ औँ वार्षिक साधारणसभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केशव प्रसाद घिमिरेले पार्क निर्माणको अवधारणा अघि सारेका हुन् ।
अध्यक्ष घिमिरेले एशियाली विकास बैंक (एडिबी) को झण्डै २० करोड सहयोगमा वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यसहित पार्क निर्माणका लागी गुरुयोजना निर्माण गरिएको जानकारी दिए ।
जैविक विविधता संरक्षण, हरियाली विस्तार तथा स्थानीय समुदायलाई वातावरणमैत्री सार्वजनिक स्थल उपलब्ध गराउने उदेश्यले निर्माण हुन लागेको पार्कमा खुला हरित क्षेत्र, पैदल हिँड्ने बाटो, विश्रामस्थल तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने संरचना सङ्गै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धन तथा स्थानीय अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष घिमिरेले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सामुदायिक वनलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले विभिन्न पहल गरिरहेको बताए । मन्त्री कलवारले जैविक मल उत्पादनका लागि तयारी भइरहेको, टपरी बनाउने मेसिन प्रयोग गरी उत्पादन बढाउने योजना रहेको र वृक्षरोपण अभियानलाई तीव्रता दिइएको जानकारी गराए ।
मन्त्री कलवारले नेपाल सरकारले सरकारी संरचना निर्माण गर्दा स्वदेशी काठ र फर्निचर प्रयोग गर्ने नीति अङ्गीकार गरिसकेको बताउँदै विदेशबाट आयात हुने काठलाई निरुत्साहित गर्दै नेपाली काठलाई विदेश निर्यात गर्ने नीति आवश्यक रहेको बताए ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विदारीले वनलाई पर्यटन तथा उद्यमसँग जोड्न आवश्यक रहेको बताए । सामुदायिक वनलाई आवश्यक सहयोग र समन्वय गर्न कार्यालय तयार रहेको जानकारी दिदै प्रमुख विदारीले ‘समृद्धिका लागि वन’ अभियान सञ्चालन भइरहेको उल्लेख गरे । उनले वातावरण संरक्षणमा वनको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै वनलाई संस्कार, संस्कृति र समृद्धिसँग जोड्न सकेको खण्डमा दिगो विकास सम्भव रहेको उल्लेख गरे ।
कर्यक्रममा देवदह नगरपालिका वडा नम्बर-४ का अध्यक्ष दमननाथ रेग्मीले सामुदायिक वनलाई आयआर्जनसँग जोड्दै उपभोक्ता मैत्री कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
त्यसैगरी कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिका अध्यक्ष लिला वल्लभ भट्टराईले सामुदायिक वन संरक्षणसँगै समृद्धिको आधार बन्न सक्ने बताए।लोपोन्मुख प्रजाती गिद्दको प्रजनन क्षेत्र भएकोले यो सामुदायिक वनको विशेष महत्त्व रहेको धारणा राखे ।
साधारणसभाको अवसरमा स्थानीय कोटही आधारभूत विद्यालयका ४ जना विद्यार्थीलाई छात्रवृत्ति र चित्रकला प्रतियोगिताका विजेता विद्यार्थी हरुलाई पुरस्कार वितरण गरिएको थियो ।
साधारणसभामा कोषाध्यक्ष इन्द्र प्रसाद पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आ।व। २०८१÷०८२ को १० लाख २६ हजार ८९६ बराबरको आय–व्यय विवरण प्रस्तुत गरे । पाण्डेले आर्थिक वर्ष २०८२÷०८३ को लागी १९ लाख १७ हजार बराबरको बजेट समेत प्रस्तुत गरे ।
समूहका उपाध्यक्ष सीता पोखरेलको स्वागत र सचीव निर्मला जिसीको संचालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology