काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा राति गाडी चलाउन असोज १६ गतेदेखि २१ गतेसम्म रोक लगाइएको छ । लगातार सक्रिय हुन थालेको मनसुनका कारण जोखिम न्यूनीकरणका उद्देश्यले स्थानीय प्रशासनले यो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार असोज १६ देखि २१ गतेसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक हुनेछ । काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उच्च जोखिमलाई मध्यनजर गर्दै सुरक्षा समिति र विपद् व्यवस्थापन समितिको बैठकले आवतजावत रोक्ने निर्णय गरेको जानकारी दिएका छन् । उनका अनुसार रोशी खोला वा अन्य स्थानीय खोलामा आकस्मिक बाढी आएको खण्डमा राति मात्र नभई अन्य समयमा पनि प्रहरी र ट्राफिक प्रहरीले सवारीसाधन रोक्न सक्नेछन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रेमा भारी वर्षाको सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । त्यसपछि जारी विज्ञप्तिमार्फत जिल्ला प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक नभए बाहिर नजान, विशेषगरी राति र लामो दूरीको यात्रा नगर्न, पहिरो जोखिममा रहेका बस्ती तथा नदी किनारमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
गत वर्ष असोज ११ र १२ गतेको वर्षा, बाढी र पहिरोले बीपी राजमार्गलाई क्षतविक्षत बनाएको स्मरण गर्न सकिन्छ । ती स्थानहरूको पुनर्निर्माण अझै पूर्णरूपमा नभएको कारण यसपालिको वर्षामा पनि जोखिम कायमै रहेको बताइन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology