न छ खुट्टामा जुत्ता छ न जिउमा ड्रेस राम्रो
माटोमा खेल्ने माटोमै रमाउने जिन्दगी हाम्रो ।।
भोकसँगै म निदाउँछु सपनामा मात्र भात
चिसो भूइ चिसै ओछ्यान कसरी काट्ने रात ।।
आमा बिहानै उठेर जान्छिन भाँडा माझ्न साहुकोमा
परदेशमा बाबा पसिना बेच्छन् बाधेर कपन टाउकोमा ।।
बाबाको कमाईले जेनतेन पुग्छ साहुको व्याज तिर्न
कहिले होला पाउने हाम्ले नयाँ कपडा फेर्न ।।
बालअधिकारका नाराहरु देख्छु पर्खालमा लेखिएका
सुन्छु चीत्कार समाचारमा बालिकाहरु बेचिएका ।।
गर्छु काम बिदाको दिनमा खेतबारीमा मैले
राम्रो लाउने मीठो खाने कहिले होला मैले ।।
स्कुल जाने बाटोमा मेरो उर्लेर खोला रुन्छ
कहिले काहिँ खालि खुट्टा किताब सारा धुन्छ ।।
छैन झोला राम्रो मेरो राख्ने फाटेका किताब
सपनामा सोच्छु कहिले आउँछ जिवनमा मेरो मिठास ।।
जाडोमा नाङ्गो शरिर हुन्छ हातभरि चिसो हावा
स्कुलबाट घरमा पुग्दा चिसो भेट्छु सधै तावा ।।
बालदिवसको रंगीन बत्ती शहरमा झलमल टल्किन्छ
मनमा मेरो साहुको मेला स्कुलको फिस झल्किन्छ ।।
रेडियोमा सुन्छु मधुर मिठो बालगितको गित
मैले भने मीत लगाउछु खेतबारी पाखा सित ।।
ढुङ्गा र काठ माटो र गट्टा यिनै हुन मेरा खेलौना
सपनाको शहरसम्म कसरी पुग्ने मनले गर्छ बिलौना ।।
कहिले होला मन भित्र मेरो बल्ने निलो ज्योति
कर्म त गर्छु दिन रात मेरो भाग्य हो कि खोटी ।।
उज्यालो बिहान पर्खिन्छु सधै अन्धकार काट्न
मलाई पनि लाग्छ मन साथी संग खुसी साट्न ।।
त्यो दिन हुनेछ साचो बालदिवस यो मातृ भूमिमा
हरेक बालक मुस्कुराउन समताको रुचिमा ।।
कसैको नहोस भोको पेट सबैले शिक्षा पाउन
बालहृदयको फूल फुलोस्, उज्यालो बनोस् जीवन ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology