Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य बीमा

स्वास्थ्य बीमाको सर्भर डाउन हुँदा लुम्बिनी प्रादेशिक अस्पतालका हजारौं सेवाग्राही मर्कामा

स्वास्थ्य बीमाको सर्भर डाउन हुँदा लुम्बिनी प्रादेशिक अस्पतालका हजारौं सेवाग्राही मर्कामा

images
  • स्वास्थ्य बीमाको सर्भर डाउन हुँदा लुम्बिनी प्रादेशिक अस्पतालका हजारौं सेवाग्राही मर्कामा
    images
    images

    बुटवल । विगत एक साता लामो समयदेखि स्वास्थ्य बीमा बोर्डको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पटक–पटक सर्भर डाउन हुने समस्याले सेवाग्राही उपचार सेवाबाट बञ्चिन हुनु परेको छ । 

    images
    images
    images

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत सेवा लिन आउने हजारौं सेवाग्राहीले यसको समस्या झेल्नु परेको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–५, भैसाहीबाट बुधबार विहान ५ बजेनै उठेर अस्पतालमा आएकी ५९ वर्षीया ईश्वरी रेग्मी दिउँसो २ बजेसम्म पनि बिल काट्न नपाउँदा काउन्टर अगाडि प्रतिक्षामै छटपटिरहेकी थिइन् । हात–खुट्टा झमझमाउने, आँखा दुख्ने तथा खोकी लाग्ने समस्या देखिएपछि स्वास्थ्य बीमाको कार्ड बोकेर विहान ६ बजेनै टोकन लिन लाइनमा बसेकी ईश्वरीले चिकित्सकसँगको परामर्शपछि रगत परीक्षण गर्नुपर्ने भयो । तर, स्वास्थ्य बीमाको काउन्टरमा सर्भर डाउन भएपछि बील काट्न नपाउँदा यत्तिकै अड्किएर बस्नुपर्यो । 

    images
    images
    images

    यसैगरी नवलपरासीको सुनवल नगरपालिका–१२ देखि आएकी दुर्गा ढकाल पनि अस्पतालको सर्भर कतिखेर खुल्छ प्रतिक्षामा बस्दै गरेको भेटिइन् । उनले दिदीकी छोरी सलिना पंगेनीलाई घाँटीको उपचार गराउनका लागि अस्पताल ल्याएको बताइन् । ‘चिकित्सकसँग भेटेपछि एक पटक रगत परीक्षण गरेर हेरौं भन्नु भएको छ । तर, रगत परीक्षण गराउनका लागि सर्भर डाउन हुँदा बील नै काट्न पाइएन ।’–दुर्गाले भनिन्, ‘विहान ९ बजेनै अस्पताल आएका थियौँ, अहिले घर फर्किने बेलासम्म पनि अस्पतालमा सर्भर चलेन भनेका छन् । अझै कति समय कुर्नुपर्ने हो थाहा छैन ।’

    images
    images
    images

    लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य बीमा काउन्टर अगाडि बुधबार दिउँसो करिब सय जनाको संख्यामा सेवाग्राहीहरु प्रतिक्षामै बसिरहेका थिए । सोही भीडमा रुपन्देही सैनामैना–५ की भागीरथी अर्याल पनि प्रतिक्षामै थिइन् । आफ्नो ७१ वर्षीया आमा दिलमाया अर्याललाई उपचार गराउन आएकी उनले भदौको चर्को घाममा पसिना पुछ्दै बील काट्ने प्रतिक्षामा अस्पतालको काउन्टर कुरिरहेकी थिइन् ।
      
    यसैगरी प्यूठानको प्यूठान नगरपालिका–२ बाट एकराज गौतम अस्पतालमा आएको ५ दिन बितिसक्यो । ७७ वर्षीया आमा कमलेश्वरी गौतमलाई उपचार गराउन आएका उनले होटलमा बास बसेर उपचारका लागि अस्पतालमा दैनिक फलोअपमै छन् । आमालाई पेट सम्बन्धी रोगको उपचारका लागि जिल्ला अस्पतालले रिफर गरेपछि उनी बुटवल आएका हुन् । ‘अस्पतालमा आएपछि आमालाई सबै रोगको परीक्षण गराएर घर लैजाने सोचेको थिएँ, तर कहिले के मिल्दैन, कहिले के । पाँच दिन बितिसक्यो ।’–एकराजले भने, ‘सबै कुरा समयमै नहुने, भिडभाड पनि उस्तै, सर्भरको समस्याले बिलिङमा उस्तै समस्य । बुटवलमा बसेर खर्च मात्रै बढ्यो ।’ विहान ७ बजे आउने दिउँसो ३ बजे फर्किने दैनिकी जस्तै भएको उनले गुनासो गरे । 

    अस्पतालका स्वास्थ्य बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलका अनुसार विगत १० दिनदेखि सर्भरको समस्या देखिएको छ । पटक–पटक स्वास्थ्य बीमा बोर्डमा जानकारी गराउँदा पनि समस्या समाधान नभएको उनले बताए । अस्पताल विहान ८ बजेदेखि स्वास्थ्य बीमाको काउन्टर सञ्चालन गरिने भएपनि विहान १० बजेपछि सर्भर नचल्दा कामकाज ठप्प हुने गरेको छ ।

    अस्पतालमा दैनिक करिब १ हजार सेवाग्राही बीमा कार्यक्रम अन्तरगत सेवा लिन आउने गर्दछन् । ‘यो समस्या यसअघि साउन महिनामा पनि आएको थियो । बीमा बोर्डले ५ दिनसम्म पूर्ण रुपमा सेवा बन्द गरेर मर्मतको कार्य गरेको जनाए पनि फेरी उस्तै समस्या देखिएको छ ।’–अस्पतालका स्वास्थ्य बीमा शाखा प्रमुख पौडेलले भने, ‘बीमा बोर्डले सर्भरको समस्या समाधान नगर्दा यहाँ आउने हजारौं सेवाग्राही प्रभावित भएका छन्, जसको अपजस हामीले खेप्नु परेको छ ।’  

    अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले स्वास्थ्य बीमाको सर्भर डाउन बारे स्वास्थ्य बीमा बोर्डलाई जानकारी गराइएको बताए । ‘सेवाग्राहीलाई समयमै उपचार सेवा उपलब्ध गराउन नसक्दा हामी अत्यन्तै दुखित छौं । अहिलेको समस्या छिटोभन्दा छिटो समाधान होस भन्ने अस्पताल प्रशासनको चाहना हो ।’–मेसु डा. ढकालले भने, ‘सम्बन्धित निकायलाई पत्राचार गरी समस्या बारे जानकारी गराउने काम भएको छ, यो समस्याप्रति हामी अत्यन्तै गम्भिर छौं ।’

    उता, स्वास्थ्य बीमा बोर्डका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी विकेश मल्लले भने, सर्भर डाउनको समस्या बारे अनविज्ञता प्रकट गरे । ‘सर्भर डाउन बारे प्राविधिक शाखामा जानकारी आएको हुनसक्छ, मेरो जानकारीमा छैन ।’–मल्लले भने, ‘यदि सर्भरकै समस्या हो भने पनि यति लामो समयसम्म नहुनु पर्ने हो । अस्पतालकै उपकरण तथा प्रविधिका कारणले पनि हुनसक्छ । हाम्रो बोर्डमा त्यस्तो समस्या छ जस्तो लाग्दैन ।’ 

    लुम्बिनी र गण्डकी प्रदेशसहित १६ बढी जिल्लाहरु उपचार सेवा लिन आउने लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २ हजार बढी स्वास्थ्य उपचारका लागि आउने गर्दछन् । जसमध्ये आधा संख्या स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत सेवा लिन आउनेहरुको हुने स्वास्थ्य बीमा सेवा शाखा प्रमुख पौडेलले बताए । उनका अनुसार गएको आर्थिक वर्षमा स्वास्थ्य बीमा सेवा कार्यक्रम अन्तरगत अस्पतालबाट सेवा लिनेको सङख्या करिब १ लाख ६० हजार रहेको छ । अस्पतालले सो अवधिमा ३५ करोड बराबरको उपचार सेवा उपलब्ध गराएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।