काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले युवाहरुमा रक्तदान गर्ने बानीको विकास गर्नुपर्ने बताएका छन् । पछिल्लो क्रममा रक्तदान गर्नेहरुको संख्या बढ्दै गएपनि स्वस्फुर्त रक्तदान गर्ने रक्तदाता अझै कम रहेको उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रद्वारा आयोजित रक्तदाता उत्प्रेरणा एवम् अन्तरक्रिया बिषयक एक दिने गोष्ठीमा बोल्दै कर्माचार्यले समाजको देशभरका शाखाबाट रक्त संकलन कार्यका लागि स्वयंसेवी रक्तदाताहरुले महत्वपूर्ण भुमिका खेलिरहेको उल्लेख गरे ।
नेपाल स्वयंसेवी रक्तदाता समाजको आवश्यकता एवं रगत र रगतबाट तयार पारिने रक्त–तत्वहरूको व्यवस्थापन बारे प्रकाश पार्दै उनले स्वस्थ नागरिकलाई रक्त सञ्चार सेवा केन्द्रमा पुगेर रक्तदानमा सरिक बनाउने वातावरण तयार गरिनुपर्नेमा जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका निर्देशक पवनकुमार गुप्ता र जनसम्पर्क अधिकृत प्रबीण मानन्धरको विशेष उपस्थिति रहेको कार्यक्रममा समाजका नगर समिति र मातहतका वडा समितिहरूका प्रतिनिधिहरू लगायत केन्द्रीय सदस्य द्धय प्रेमप्रसाद लम्साल, ध्रुव पाण्डे समेतको उपस्थिति रहेको केन्द्रिय महासचिव कृष्ण चौहान क्षेत्रीले जानकारी दिए ।
सोहि अवसरमा नेपालमा रक्त व्यवस्थापनको वर्तमान अवस्था र सहभागिहरूको जिज्ञासालाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा जनसम्पर्क अधिकृत सन्देश थापाले प्रकाश पारेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology