देवदह । देवदहका संस्थागत विद्यालयमा झन्डै दुई अर्ब रूपैयाँ लगानी भएको छ । रुपन्देहीको पूर्वी क्षेत्रका संस्थागत विद्यालयहरुको साझा संस्था (इप्सा) तथा प्याब्सन देवदह अध्यक्ष रामबहादुर गुरुङका अनुसार संस्थागत विद्यालयमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी छ ।
देवदहमा निजी क्षेत्रबाट संचालित विद्यालय र मन्टेश्वरीको संख्या २३ रहेको छ । जहाँ न्युनतम एक करोडदेखि अधिकतम ३० करोडसम्म लगानी भएका विद्यालय रहेको प्याब्सन देवदहका सचिव कृष्ण प्रसाद गैरेले जानकारी दिए । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका प्राचार्य समेत रहेका गैरेले देवदहका कुल विद्यार्थीको ६० प्रतिशतभन्दा बढी विद्यार्थीले गुणस्तरीय शिक्षाको लागि संस्थागत विद्यालयलाई रोजेको दावी गरे ।
कानुनत: विद्यालयको ६० प्रतिशत आम्दानी शिक्षक कर्मचारीमा लगानी गरेको बताउने निजि विद्यालय संचालकहरु विद्यालयमा भौतिक पूर्वाधार निर्माण, ल्याब र सवारी साधन खरिदमा सुरुवाती अवस्थामा धेरै लगानी हुने बताउँछन् । नेशनल प्याब्सन केन्द्रीय उपमहासचिवसमेत रहेका सगरमाथा आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेल निजी क्षेत्रले शिक्षामा गरेको लगानीको महसुस राज्यका कुनैपनि अंगले गर्न नसकेको बताए ।
'बैंकबाट कर्जा लिएर र पैतृक सम्पत्तिसंगै आफ्नो जीवन समपर्ण गरेर हामीले विद्यालय चलाएका छौं । लाखौँ विद्यार्थीलाई देशमै गुणस्तरीय शिक्षा दिएका छौं । हजारौ रोजगारी सिर्जना गरेका छौं, करोडौं कर तिरेका छौं र पनि हामीलाई अपराधि जस्तो व्यवहार यो राज्यले गर्छ ।' पौडेलले भने, 'हामी सधै अन्यायमा बाचेका छौं । नयाँ शिक्षा ऐनले न्याय दिने आशामा रहेका हामी विधेयकमा गरिएका केही व्यवस्थाका कारण झनै निराश भएका छौं ।
त्यसैगरी प्याव्सन रुपन्देहीका सल्लाहकार समेत रहेका ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक एकनारायण काफ्ले पनि सम्पूर्ण पैतृक सम्पत्ति र २० वर्षदेखिको आफ्नो जीवन विद्यालयमा समर्पण गरेको बताए । 'नीति निर्माताहरुले बैंकमा रहेको करोडौं कर्जा नदेख्ने तर विद्यालयका भवन देख्ने प्रवृत्ति गलत छ ।' उनले भने ।
देवदहका संस्थागत विद्यायलमा एक १ अर्ब ८० करोड रुपैयाँ लगानी भएको तथ्यांक छ । कतिपय विद्यालयले आफुहरुले सुरुवाती लगानीको विवरण मात्र दिएको बताएका छन् । लगानी गरिएको रकमको ब्याज मात्रै जोड्ने हो भने लगानी रकम अझै धेरै हुने विद्यालयहरुको भनाई छ ।
प्राप्त तथ्यांक अनुसार देवदहका संस्थागत विद्यालयमध्ये सबैभन्दा धेरै लगानी देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा छ । कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा ३० करोड लगानी छ । देवदह-५ मा रहेको विद्यालयमा हाल १ हजार ९२६ जना विद्यार्थी अध्यनरत छन् । बुद्ध पब्लिकमा विद्यार्थीको प्रयोजनका लागि ८ वटा बस/भ्यान रहेका छन् ।
त्यसैगरी सगरमाथा आवासीय माध्यमिक विद्यालयमा २५ करोड लगानी छ । देवदह-७ शितलनगरमा रहेको विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुने गर्छ । सगरमाथामा १ हजार ६ सय ५० विद्यार्थी अध्ययनरत छन् भने १२० जना शिक्षक–कर्मचारी कार्यरत छन् । विद्यार्थीको प्रयोजनको लागि विद्यालयले ८ वटा स्कुल बसको व्यवस्था गरेको छ । स्वर्णिम सगरमाथा कलेजको नाममा स्नातक तहतर्फ व्यवस्थापन संकाय समेत संचालन गरेको सगरमाथाको लगानीमा कलेजको लगानी जोडिएको छैन ।
देवदह–७ मा रहेको देवदह बोर्डिङ स्कूलमा २० करोड रुपैयाँ लगानी देखिएको छ । कक्षा १० सम्म अध्यापन हुने देवदह बोर्डिङमा ८४० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ५६ जना शिक्षक–कर्मचारी कार्यरत छन् भने ५ वटा स्कुल बस सञ्चालनमा छन् ।
ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालय देवदहको अर्को ठुलो विद्यालय हो । देवदह-७ मा रहेको ग्रीन प्लान्टमा कक्षा १२ सम्म अध्यापन हुन्छ । १ हजार ४४० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ८५ जना शिक्षक–कर्मचारी रहेका छन भने ५ वटा बस संचालनमा छन् । विद्यालयको लगानी १५ करोड रुपैयाँ छ ।

देवदहको वडा नं ९ भलुहीमा रहेको न्यु नमूना बोर्डिङ स्कूलमा कक्षा १० सम्म अध्यापन हुन्छ । ७४० जना विद्यार्थीलाई पढाइरहेको विद्यालयमा १५ करोड लगानी छ । जहाँ ३३ जना शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयमा विद्यार्थीको प्रयोजनको लागि ३ वटा स्कुल बस रहेका छन् ।
देवदहको दक्षिण क्षेत्रमा रहेको सेभेन स्टार बोर्डिङ स्कूलमा कक्ष १२ सम्म अध्यापन हुने गर्छ । देवदह–२ मा रहेको सेभेन स्टारमा १ हजार १५ विद्यार्थी छन् भने ५६ शिक्षक–कर्मचारी कार्यरत रहेका छन् । १० करोड लगानी रहेको सेभेन स्टारमा विद्यार्थी प्रयोजनका लागि ४ वटा बस परिचालित छन् ।
देवदहको मध्यक्षेत्र देवदह–३ मा रहेको मदरल्याण्ड बोर्डिङ स्कूलमा १० करोड रुपैयाँ लगानी रहेको छ । मदरल्याण्डमा ४०० विद्यार्थी अध्ययनरत छन् । जहाँ २८ शिक्षक–कर्मचारी रहेका छन् । विद्यार्थीको लागि २ वटा बस विद्यालयले परिचालन गरेको जनाइएको छ ।
देवदह-५ मा बेग्लै पहिचान बोकेको मदरटंग्स एकेडेमी रहेको छ । देशकै पहिलो मातृभाषा पठनपाठन हुने विद्यालयको रुपमा स्थापित मदरटंग्स एकेडेमीमा मातृभाषाका कक्षा र नियमित अन्य कोर्ष पढाइ हुन्छ । कक्षा १० सम्म अध्यापन हुने विद्यालयमा ५८५ विद्यार्थी रहेका छन् । विद्यालयले ४५ शिक्षक–कर्मचारीलाई रोजगार दिएको छ । ९ करोड रुपैयाँ लगानी रहेको विद्यालयमा ३ वटा स्कुल बस रहेका छन् ।
देवदहको दक्षिण क्षेत्रमा रहेको अर्को विद्यालय हो - एशियन लाइट बोर्डिङ स्कूल । देवदह–१ मा रहेको यस विद्यालयमा ६६५ विद्यार्थी अध्ययनरत छन् । ४२ शिक्षक–कर्मचारीलाई रोजगार दिइरहेको एशियन लाइटमा ९ करोड रुपैयाँ लगानी भएको छ । विद्यार्थीको प्रयोजनका लागि विद्यालयमा ३ वटा बस परिचालित छन् ।
देवदह–१ मा नारायणी पब्लिक बोर्डिङ स्कूल रहेको छ । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा ३७५ विद्यार्थी रहेका छन् । ७ करोड लगानी रहेको विद्यालयामा २७ जना शिक्षक–कर्मचारी कार्यरत छन् । विद्यार्थीको प्रयोजनको लागि विद्यालयमा १ वटा बस समेत रहेको छ ।
देवदह-७ मा रहेको सरस्वती शिक्षालयलाई कक्षा १० सम्मको शिक्षण अनुमति छ । तर विद्यालयले हाल कक्षा ७ सम्म अध्यापन गर्दै आएको छ । विद्यालयमा १५७ विद्यार्थी अध्ययनरत छन् भने १९ शिक्षक–कर्मचारी छन् । विद्यालयमा ७ करोड रुपैयाँ लागानी रहेको छ । १ वटा बससमेत विद्यालयले संचालन गर्दै आएको छ ।
देवदह–१० मा रहेको कोलिय बोर्डिङ स्कूलमा कक्षा १० सम्म अध्यापन हुने गर्छ । विद्यालयमा ६०० विद्यार्थी रहेका छन् । ३५ शिक्षक–कर्मचारीलाई रोजगार दिएको विद्यालयमा ५ करोड रुपैयाँ रहेको छ । विद्यालयले २ वटा बस संचालन गर्दै आएको छ ।
देवदह–२ मा रहेको अर्को विद्यालय नमूना एभरग्रीन बोर्डिङ स्कूल हो । नमूना एभरग्रीनमा कक्षा ८ सम्म पढाइ हुने गर्दछ । विद्यालयमा ४२१ विद्यार्थी रहेको विद्यालयमा २६ शिक्षक–कर्मचारी कार्यरत छन् । विद्यालयमा ५ करोड रुपैयाँ लागानी भएको छ । विद्यालयका २ वटा बस रहेका छन् ।
बुद्ध पब्लिक मन्टेश्वरी देवदह–७ मा संचालित छ । यो लगानी र विद्यार्थीको संख्याको आधारमा सबैभन्दा ठुलो मन्टेश्वरी हो । कक्षा ५ सम्म अध्यापन हुने यस विद्यालयमा ३१९ विद्यार्थी अध्ययनरत छन् । ४२ शिक्षक–कर्मचारी रहेको विद्यालयमा ५ करोड रुपैयाँ रहेको छ । विद्यालयले ४ वटा बस संचालन गर्दै आएको छ ।
किड्स प्याराडाइज मन्टेश्वरीमा युकेजीसम्म पढाइ हुने गर्दछ । देवदह–७ मा रहेको यस विद्यालयमा १२५ विद्यार्थी अध्यनरत छन् भने १६ शिक्षक–कर्मचारी कार्यरत छन् । करिब ५ करोड रुपैयाँ लागानी रहेको विद्यालयमा २ वटा बस/भ्यान संचालनमा छन् ।
देवदह–१० चरङ्गेमा रहेको मायादेवी बोर्डिङ स्कूलमा कक्षा ८ सम्म अध्यापन हुने गर्छ । ४०० विद्यार्थी अध्ययनरत विद्यालयमा ४२ शिक्षक–कर्मचारी कार्यरत छन । ३ करोड रुपैयाँ लगानी रहेको विद्यालयमा २ वटा स्कूल बस संचालित छन् ।
न्यु लुम्बिनी बोर्डिङ स्कूल देवदह-५ मा रहेको छ । कक्षा १० सम्म अध्यापन हुने विद्यालयमा ४१० विद्यार्थी रहेका छन् भने ३३ शिक्षक–कर्मचारी कार्यरत छन् । २ करोड लगानी रहेको विद्यालयमा ३ वटा स्कुल बस संचालनमा छन् ।
कक्षा ५ सम्म पढाइ हुने कोलियराज बोर्डिङ स्कूल देवदह–४ मा पर्दछ । १९८ विद्यार्थी अध्ययनरत विद्यालयमा १४ शिक्षक–कर्मचारी कार्यरत छन् । २ करोड रुपैयाँ लगानी रहेको विद्यालयमा १ वटा बस संचालनमा रहेको जनाइएको छ ।
त्यसैगरी देवदहमा अरु पनि मन्टेश्वरी स्कुलहरु संचालनमा छन् । ग्रेट फ्यूचर किड्स मन्टेश्वरी, बुद्ध किड्स मन्टेश्वरी, रोज बर्ड मन्टेश्वरी, ग्रेस मन्टेश्वरी र रेन्बो मन्टेश्वरीमा पनि निजि क्षेत्रको लगानी छ । यी विद्यालयमा पनि प्रतिविद्यालय कम्तिमा एक करोड लगानी भएको प्याब्सनले जनाएको छ । उल्लेखित मन्टेश्वरीहरुमा ६०० को हाराहारीमा विद्यार्थी रहेको र ४२ जना शिक्षक–कर्मचारी कार्यरत रहेको प्याब्सनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । सबै विद्यालयमा कम्तिमा १-१ वटा गरी ५ वटा बस/भ्यान संचालनमा रहेको र कुल लगानी करिब ५ करोड रुपैयाँ रहेको तथ्यांक छ ।
प्याब्सन देवदहले उपलब्ध गराएको उल्लेखित तथ्यांकलाई हेर्दा देवदहका संस्थागत विद्यालयहरूमा १२ हजार ८ सय ६६ जना विद्यार्थी अध्ययनरत छन् । जहाँ ८३३ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । विद्यालयकै कारण अप्रत्यक्ष रुपमा रोजगार पाउने वा स्वरोजगार हुनेहरुको संख्या थप एक हजार हुन सक्ने बताइन्छ ।
देवदहका विद्यालयहरूमा कक्षा १२ सम्म विभिन्न तहमा भर्ना भएर पढिरहेका विद्यार्थीहरुको कुल संख्या १९ हजार १८ रहेको छ । नगर शिक्षा अधिकृत परशुराम ढकालका अनुसार देवदहका विद्यालयहरुमा ८ हजार ८६५ जना छात्रा र १० हजार १५३ जना छात्र अध्ययनरत छन् ।
यद्यपि नगर शिक्षा शाखा र प्याब्सन देवदहले उपलब्ध गरेको विद्यार्थी संख्यामा भने एक रुपकता देखिदैन । प्याब्सनले १२ हजार ८ सय ६६ जना विद्यार्थी संस्थागत विद्यालयमा अध्ययनरत रहेको तथ्यांक दिएको भएपनि नगर शिक्षा शाखाको तथ्यांकमा भने ११ हजार २५५ जना विद्यार्थी संस्थागत विद्यालयमा रहेको देखाएको छ ।
मन्टेश्वरीमा अध्ययनरत कतिपय विद्यार्थीको अपडेट नभएको हुनसक्ने र त्यसको कारणले संस्थागतको विद्यार्थी संख्या कम देखिएको हुनसक्ने प्याब्सनको भनाई छ ।
नगरपालिकाको तथ्यांकलाई आधार मान्दा संस्थागत विद्यालयमा कुल विद्यार्थीको ५९.१८ प्रतिशत विद्यार्थी अध्ययनरत छन् भने प्याब्सनको तथ्यांकको आधारमा ६७.६५ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा रहेको देखिन्छ ।
झन्डै दुई अर्व बराबरको आर्थिक लगानी, ६० प्रतिशत विद्यार्थीको सहभागिता र ८ सयभन्दा बढी शिक्षक-कर्मचारीको प्रत्यक्ष रोजगारले देवदहका संस्थागत विद्यालयहरूले शिक्षा क्षेत्रमा मात्र नभएर यहाँको आर्थिक, सामाजिक र संरचनागत क्षेत्रमा समेत योगदान गरेको देखाउँछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology