देवदह । ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल ( एनसिसी) सम्बन्धी प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । एनसिसी तालिममा सहभागी विद्यार्थी (क्याडेट), विद्यालय प्रशासन र समन्वय शिक्षक लक्षित प्रथम प्रवचन कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली सेनाका सेनानी दीपा खड्काले एनसिसी तालिमको महत्व, आवश्यकता र त्यसले विद्यार्थीमा ल्याउने सकारात्मक प्रभाव बारे चर्चा गरिन् ।
उनले विद्यार्थीका लागि एक सय दिनसम्म तालिम सञ्चालन गरिने बताउँदै ७९ दिन विद्यालयमै तालिम हुने र २१ दिन अन्य विद्यालयका विद्यार्थी (क्याडर)हरुलाई समेत समावेश गरेर सामुहिक तालिम सञ्चालन गरिने जानकारी दिईन् ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, विद्यालयका प्रवन्ध निर्देशक एकनारायण काफ्ले, प्राचार्य राजीव सापकोटा लगायतले अनुशासित र जिम्मेवार भएर तालिम पुरा गर्न विद्यार्थीलाई आग्रह गरे । तालिमले जिम्मेवार, योग्य र असल नागरिक बन्न प्रेरित गर्ने उल्लेख गर्दै उनीहरुले विद्यालय र देवदह नगरपालिकाले त्यसको लागि आवश्यक सबै सहजीकरण र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तालिममा ग्रीन प्लान्ट माविबाट १५ जना छात्रा र १५ जना छात्र गरी ३० जना विद्यार्थी सहभागी छन् ।
‘७७ वटै जिल्लामा लागू भएको एनसिसि कार्यक्रम सिनियर डिभिजन र जुनियर डिभिजन गरी २ क्याटागोरीमा सञ्चालन हुन्छ । नेपाल सरकारको मातहतमा रहेको यो कार्यक्रमको तालिम सञ्चालनको जिम्मेवारी नेपाली सेनालाइ दिइएको छ । क्याडर विद्यार्थीहरुलाई विद्यालयमा ७९ दिन शारीरिक तालिम, अधारभुत सैनिक कला, विपद् व्यवस्थापन तालिम प्रदान गरिनेछ भने २१ दिन साहसिक तालिमसँगै उनीहरुको मुल्याङ्कन समेत गरिनेछ ।
नेपालमा २०२२ सालमा स्थापना भइ २०२४ सालबाट सुरु भएको एनसिसिमा सात हजार ७०४ जना भन्दा बढी बार्षिक रुपमा दिक्षित हुने गरेका छन् । हालसम्म ८२ हजार १८४ जना क्याडर एनसीसी तालिमबाट दिक्षित भैसकेका छन् ।
सेनाको हेडक्वाटरमा मुख्यालय रहेको एनसिसीले ४ वटा शिक्षालय मार्फत देशभर कार्यक्रम सञ्चालन गर्ने गर्छ । जसको उद्धेश्य राष्ट्रिय हितप्रति समर्पित अनुशासित र वफादार युवा जनशक्ती तयार गर्नु हो । जसबाट युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि हुने र त्यस्ता युवा असल नागरिकको रुपमा स्थापित भई राष्ट्र विकासमा सहकार्य गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।
राष्ट्रलाई संकट र प्रकोपका बेला नेपाली सेनाको मातहतमा रहेर काम गर्ने एनसिसीमा सिनियर डिभिजन अन्तर्गत कक्षा ११ र १२ मा अध्यनरत छात्रछात्रा रहनेछन् भने जुनियर डिभिजन अन्तर्गत कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थी समावेश हुनेछन् ।
तालिममा उत्कृष्ट हुने क्याडरले भारत, श्रीलंका बङ्गलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, सिङ्गापुर लगायत देशमा भ्रमणको अवसरसमेत प्राप्त गर्ने छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology