देवदह । देवदह नगरपालिकाले सहकारी संस्थाहरूसंग अन्तरक्रिया गरेको छ । बुधवार सहकारीका अध्यक्ष र व्यवस्थापकहरूसंग नगर प्रमुख ध्रुवप्रसाद खरेलले अन्तरक्रिया गरेका हुन् ।
अन्तरक्रियामा देवदहमा रहेका सहकारी संस्थाहरुको अवस्था र थप सुधारको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्षहरुले आफ्नो सहकारीले प्रवाह गरेको ऋण, सहकारीको अवस्था, खराब कर्जा आदिबारे रिपोर्टिंङ्ग गरे ।
अन्तरक्रियामा सहकारी संजाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीले देवदहका सहकारीहरुको अवस्थाबारे तथ्यांक समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष टिका न्यौपानेले देवदहका सहकारी बलियो अवस्थामा रहेको र कुनै पनि सहकारीमा आर्थिक हिनामिनाको घटना नभएको बताइन् । पल्लवी सहकारीका अध्यक्ष प्रमोद खनालले आफ्नो सहकारीले साधारण सभामा यातायात खर्च दिने परम्परा तोडेको बताए । उनले सहकारीको साधारण सभामा पैसा दिने कार्य रोकिनुपर्ने विचार राखे ।
कोलिय देवदहका व्यवस्थापक विनोद पराजुलीले साधारण सभामा यातायात खर्च दिने या नदिने विषयमा सबै सहकारीले एउटै नीति अबलम्बन गर्नुपर्ने बताए । निर्माण बहुउद्धेश्यीय सहकारीका अध्यक्ष मोतिलाल ढकालले नगरपालिकाले सहकारीमा अनुगमन बढाउनु पर्ने र नगरपालिकाले सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले देवदहमा ४७ वटा सहकारी रहेको र दोहोरो सदस्यताको समस्या देखिएको बताए । उनले सहकारीमा यातायात खर्च वापत दिईने रकम कानुनी रुपमा समेत अवैध रहेको, त्यसले विभिन्न विकृतिहरु निम्त्याएको तथा सहकारीहरुले राख्नुपर्ने कोषमा समेत रकम नराखेको पाइएकाले त्यसतर्फ ध्यान दिन सहकारीका प्रतिनिधिहरुलाई सुझाए । यातायात खर्च दिइए कारवाही गरिने उनले स्पष्ट पारे ।
प्रमुख खरेलले मल वितरण गर्ने सहकारीहरुले सदस्यलाई मात्र नभएर सबैलाई आवश्यकता अनुसार मल वितरण गर्न निर्देशन दिए । मलको आपूर्ति प्रयाप्त नभएको विषयमा आफु जानकार रहेको उल्लेख गर्दै प्रमुख खरेलले मंसिरसम्म प्रयाप्त मल उपलब्ध हुने बताए । उनले किसान कार्ड वितरण गर्ने नगरपालिकाको योजना रहेको र सोही अनुसार आवश्यक राहत वितरण गर्ने बताए ।
देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले स्वागत गरेको कार्यक्रमको संचालन तिर्थ खनालले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology