देवदह । देवदह नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकासका लागि स्वजागरण कार्यक्रम गरेको छ । मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीको सहजिकरणमा स्वजागरण कार्यक्रम भएको हो ।
सो अवसरमा सहजकर्ता अधिकारीले परिस्थिती अनुसारको मनस्थिती निर्माण गर्न सके मात्र खुसी र सुखी जीवन जिउन सकिने बताए । मनमा शान्ती हुने मान्छे सफल बन्न सक्ने बताएका उनले शान्त मनले गरेको कर्मले मात्र समृद्धि ल्याउने तर्क गरे ।
उनले भने, ‘आफुसंग जे छ त्यसैमा खुसी हुनुपर्छ, नभएको कुराको लिस्ट बनाएर किन दुखी हुने ?’ अधिकारीले कर्म अनुसारको परिणाम आउने तर्क प्रस्तुत गर्दै असल कर्मले निम्त्याएको परिणामले खुसी मिल्न सक्ने बताए ।
कार्यक्रममा उनले निराशाले नकरात्मकता र गलत परिणाम निकाल्ने बताउँदै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले खुसीसाथ गरेको कामबाट मात्र नागरिक सन्तुष्ट बन्न सक्ने उल्लेख गरे । ‘सेवाग्राही तपाईको कार्यालयमा आउँदा मुसुक्क हाँस्नुस, सकेसम्म पहिला नमस्कार गर्ने बानी बसाउनुस् तपाईँबाट सेवा नपाउँदा पनि उ खुसी साथ फर्किन सक्छ ।’ उनले भने, ‘सेवाग्राहीलाई खुसी बनाईरहँदा तपाईको शरिरमा समेत सकारात्मक भाव सञ्चार हुन्छ र त्यसले स्वास्थ्यलाई समेत फाइदा गर्छ ।’

उनले विश्वासको प्रणाली जसरी विकसित हुन्छ त्यसै अनुसस्रको सोच बन्ने बताउँदै बाटोघाटो निर्माण गरेर मात्र विकास नहुने तर्क प्रस्तुत गरे । समाजमा व्याप्त नकारात्मक विश्वासको प्रणाली भत्काउन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसको लागि जनप्रतिनिधिहरुले भुमिका खेल्नुपर्नेमा जोड दिए ।
फरक प्रसंगमा उनले देवदह नगरपालिका सडक मानवमुक्त नगरको रुपमा स्थापित हुनुपर्ने बताए । देवदहबाट हालसम्म ४२ जनाको उद्दार गरी मानव सेवा आश्रममा लगिएको जानकारी दिर्दै अव नगरपालिका सडक मानव मुक्त हुनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नगर प्रमुख ध्रुवप्रसाद खरेलले सकारात्मक सोच सहित गरिएको कामबाट नतिजा समेत सकारात्मक आउने बताए । उनले स्वजागरणमा प्रस्तुत भएका विषयवस्तु अत्यन्तै मननयोग्य रहेकाले यसलाई सबै जनप्रतिनिधिहरुले पालना गर्नुपर्ने र यसको प्रभाव सर्भिस डेलिभरीमा हेर्ने आफ्नो इच्छा रहेको जानकारी दिए ।
‘तपाईहरुलाई आवश्यक थप सकारात्मक सोच सम्बन्धि कार्यक्रम ल्याउन नगरपालिका तयार छ, तर तपाई हामीले सिकेका र सुनेका कुरा व्यवहारमा लागु गरेर परिवर्तित हुन सिक्नुपर्यो । उनले भने, ‘हामी जनताका सेवक हौं त्यही रुपमा काम गरौं ।’
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको स्वागत र वरिष्ठ प्रशासकिय अधिकृत रमेश गिरीको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology