देवदह । देवदह नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य कार्यक्रमहरूमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । स्वास्थ्य शाखाको बार्षिक प्रतिवेदन अनुसार, नगरपालिकाले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेको छ भने विभिन्न स्वास्थ्य सेवाहरूबाट १ लाख ७५ हजार ८७८ जना सेवाग्राहीले लाभ लिएका छन् । यद्यपि, भौतिक पूर्वाधार र जनशक्तिको अभाव जस्ता चुनौतीहरूले स्वास्थ्य सेवा विस्तारमा बाधा पुर्याएको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनका अनुसार, नगरपालिकामा १० शैय्याको आधारभूत अस्पताल १ वटा, स्वास्थ्य चौकी २ वटा, आधारभूत स्वास्थ्य सेवा केन्द्र ९ वटा र नागरिक आरोग्य केन्द्र १ वटा सञ्चालनमा छन् । यसबाहेक, १७ वटा खोप केन्द्र र ५ वटा गाउँघर क्लिनिकले सेवा प्रदान गरेका छन्। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू ९६ जना र स्वास्थ्य कर्मचारीहरू ६२ जना कार्यरत छन् ।
न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाहरूको मूल्यांकन गरिएको छ, जसमा ३ वटा संस्थाले ८५–१०० प्रतिशत स्कोर प्राप्त गरेका छन् भने ६ वटाले ७०–८४ प्रतिशत र ३ वटाले ५०–६९ प्रतिशत स्कोर हासिल गरेका छन् ।
स्वास्थ्य सेवा उपभोगमा महिलाहरूको सहभागिता उल्लेखनीय छ । कुल सेवाग्राहीमध्ये १ लाख ८ हजार ६५० महिला र ६७ हजार २२८ पुरुष रहेका छन्। खोप केन्द्रबाट ८ हजार ७७४ र गाउँघर क्लिनिकबाट १ हजार ४०९ जनाले सेवा लिएका छन्। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ५० हजार ७७१ जनालाई सेवा प्रदान गरेका छन् ।
खोप कार्यक्रममा पनि सकारात्मक नतिजा देखिएको छ । बिसिजी खोप ७२७, रोटा–२ खोप ८७३, एफआईपीभी खोप ९७२, डिपिटी–हेप–हिब–३ खोप ९१५, दादुरा–रुबेला–२ खोप १ हजार ७६ र जापानिज इन्सेफलाइटिस खोप १ हजार ४० बालबालिकाले प्राप्त गरेका छन्। गर्भवती महिलाहरूका लागि टिडी र टिडी–२ प्लस खोप ९०३ जनालाई दिइएको छ ।
पोषण कार्यक्रम अन्तर्गत ०–२३ महिनाका १ हजार १७९ बालबालिकाको अनुगमन गरिएको छ । १ हजार ३३ गर्भवती महिलाले १८० आइरन र क्याल्सियम चक्की प्राप्त गरेका छन् । भिटामिन ए १० हजार १२४ र जुकाको औषधि ९ हजार ११७ बालबालिकालाई वितरण गरिएको छ । पूर्ण स्तनपान गर्ने बालबालिकाको संख्या १ हजार ७ रहेको छ । विद्यालयमा जुकाको औषधि २३ हजार ६५ बालबालिकालाई दिइएको छ । कुपोषित बालबालिकाका लागि ओटीसी केन्द्रमा ६४ जना भर्ना भएका मध्ये ४५ जना निको भएका छन् ।
किशोरी लक्षित कार्यक्रममा ५ हजार ८७२ किशोरीले १३ हप्ता र ३ हजार ८५१ ले २६ हप्ता आइरन फोलिक एसिड चक्की खाएका छन् । स्वास्थ्य प्रबर्द्धनमा १८० विद्यालय सत्र, १८९ समुदाय सत्र र ४६ अन्य सत्र सञ्चालन गरिएका छन्, जसमा कुल १६ हजार ७३९ जना सहभागी भएका छन् ।
नवशिशु तथा बाल स्वास्थ्यमा गम्भीर संक्रमण १, स्थानीय संक्रमण ३४, स्वासप्रश्वास समस्या ५५८, निमोनिया १२० र झाडापखाला ३८७ बालबालिकामा देखिएको छ । मातृशिशु स्वास्थ्यमा १ हजार ८९२ महिलाले पहिलो गर्भ जाँच गराएका छन् भने १ हजार ३३ ले ४ पटक र ७५५ ले ८ पटक जाँच गराएका छन् । स्वास्थ्य संस्थामा प्रसुति सेवा केरवानी स्वास्थ्य चौकीमा ६३, देवदह नगर अस्पतालमा १०१, सिक्टहन स्वास्थ्य चौकीमा ५७ र देवदह मेडिकल कलेजमा ५७३ जनाले लिएका छन् ।
कम तौलका बच्चा १२९ जना जन्मिएका छन् भने मातृ मृत्यु ३, नवजात शिशु मृत्यु १ र जन्मिदै मृत्यु (स्टिल बर्थ) ८ वटा भएको छ।
प्रजनन स्वास्थ्यमा पाठेघरको मुखको क्यान्सर जाँच ७७० जनामा गरिएको छ, जसमध्ये ५१ शंकास्पद छन् । आङ खस्ने समस्या ३६० जनामा जाँच गरिएको छ, जसमध्ये १२ जनालाई उपचार (रिङ पेसरी) दिइएको छ ।
परिवार नियोजनमा कण्डम ३६५, पिल्स ७१४, डिपो ६६१, सायना प्रेस १६९, कपर टी ५६८, इम्प्लान्ट १८४७ र आकस्मिक गर्भनिरोधक ५७ प्रयोगकर्ता रहेका छन्। स्थायी बन्ध्यकरण १ हजार ५५१ जनाले गरेका छन् ।
क्षयरोग नियन्त्रणमा नयाँ बिरामी ११४ र पुनः उपचार ५ जना छन् । उपचार पूरा गर्ने दर उच्च छ भने मृत्यु ३ जना भएको छ । औलो रोगमा ९२६ नमुना जाँच गरिए पनि पोजिटिभ शून्य छ । कुष्ठरोगमा नयाँ १० जना (महिला ३) पत्ता लागेका छन् । एचआईभी जाँच ९४६ गर्भवतीमा गरिए पनि पोजिटिभ शून्य छ ।
उपचारात्मक सेवामा ओपीडीमा १ लाख ४ हजार ३०७ नयाँ बिरामी आएका छन्, जसमध्ये मुख्य रोगहरू हाइपरटेन्सन, एपीडी, हेडेक, फिभर, ब्याकेक, राइनाइटिस, कट इन्जुरी, कफ, पीआईडी र मेनस्ट्रुअल डिसअर्डर रहेका छन्। जातीय विवरण अनुसार दलित ३२ हजार ४२९, जनजाती १६ हजार ५३७ लगायतले सेवा लिएका छन्।
नसर्ने रोगमा उच्च रक्तचाप २ हजार १७९, मधुमेह १ हजार २७७, सीओपीडी १४३, दम १२२ लगायत नयाँ बिरामी छन् । मानसिक स्वास्थ्यमा डिप्रेसन ४४, चिन्ता ३५ जना छन् । समुदायिक उत्तरदायी सेवामा स्पाइनल पारालाइसिस, मृगौला र क्यान्सर जस्ता रोगीहरूलाई मासिक ५ हजार सहयोग दिइएको छ भने उपचार सिफारिस ८४ जनालाई गरिएको छ । स्वास्थ्य बीमामा लक्षित ७७ हजार ३६८ मध्ये २३ हजार ५१२ (३० प्रतिशत) ले बीमा गरेका छन् ।
पूर्ण खोप दिगोपना २०८२ जेठ २१ मा घोषणा गरिएको छ । नसर्ने रोग स्क्रिनिङमा २ हजार ५०६ को रक्तचाप जाँच गरिए मध्ये ३७२ उच्च रक्तचापका बिरामी फेला परेका छन् । विद्यालय किशोरीहरूमा रक्तअल्पता परीक्षणमा केरवानी माविमा ३२ प्रतिशत, भविष्य निर्माण माविमा ६५ प्रतिशत र सरस्वती माविमा ४८ प्रतिशत अल्पता देखिएको छ ।
प्रतिवेदनले सबल पक्षहरूमा पूर्ण खोप र संस्थागत प्रसुति सुनिश्चितता, नि:शुल्क औषधि आपूर्ति, पोषण स्क्रिनिङ, किशोरकिशोरी मैत्री सेवा, एचपीभी खोप अभियान र क्षयरोग खोजपडताललाई उल्लेख गरेको छ । तर, चुनौतीहरूमा फर्निचर र भौतिक पूर्वाधार अभाव, दरबन्दी अनुसार कर्मचारी नहुनु, प्राविधिक सामग्री अभाव, फोहोर व्यवस्थापन समस्या र कुष्ठरोग दर बढ्दो (प्रति १० हजारमा २ जना) रहेको छ । देवदह–८ बंगाली खोप केन्द्रमा आफ्नै भवन नभएको पनि समस्या हो ।
स्वास्थ्य शाखाका अनुसार, यी चुनौतीहरू सम्बोधन गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरिने छ । प्रतिवेदनले देवदहलाई स्वास्थ्य सेवामा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण आधार प्रदान गरेको नगर स्वास्थ्य शाखाको भनाइ छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology