बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रसुती सेवाको विशिष्टिकृतसँगै उपचार सेवामा ल्याप्रोस्कोपी विधिको प्रयोग बढ्दै गएको छ । अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै भवन तथा छुट्टै शल्यक्रिया कक्ष बिस्तारपछि उपचार सेवा थप प्रभावकारी बन्दै गएको अस्पतालमा मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले दाबी गरे ।
यसैबीच अस्पतालमा ल्याप्रोस्कोपी अर्थात दूरविन विधिबाट उपचार सेवा अन्तरगत एक्टोपिक प्रेग्नेन्सी शल्यक्रिया सफल भएको छ । सामान्यता महिलाको गर्भ रहँदा भ्रूण गर्भाशय भित्र बस्न जान्छ र त्यहीँ विकास हुने गर्दछ । तर एक्टोपिक गर्भावस्थामा भ्रूण गर्भाशय बाहिर, प्रायः फ्यालोपियन ट्युबमा विकास हुन थाल्दछ । कहिलेकाहीँ यो अण्डाशय पेटको भित्तो वा गर्भाशयमा बस्न जानेहुँदा महिलालाई अत्यन्त जोखिम हुने गर्दछ । डा. बाबिता थापाका अनुसार एक्टोपिक प्रेग्नेन्सी जीवनको लागि खतरनाक हुन सक्छ किनकि भ्रूण ट्युब वा अन्य अंगमा बढ्न सक्दैन र त्यो स्थान चुँडिएर आन्तरिक रक्तस्राव हुनसक्छ। यसले महिलाको ज्यान पनि जान सक्छ । उक्त समस्याका लागि एक्टोपिक प्रेग्नेन्सी शल्यक्रिया गर्ने गरिन्छ ।
पछिल्लो समयमा यस विधिलाई अत्यन्त भरपर्दो एवम् आधुनिक विकास पद्धतिको प्रविधिको रुपमा लिने गरिएको छ । यस किसिमको प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई धेरै चिरफार गर्न नपर्ने रक्तश्रापको जोखिम अत्यन्त कम हुने साथै बिरामी पनि छिटो निको हुने हुँदा यो सबै कुराबाट अत्यन्त भरपर्दो रहेको चिकित्सकहरु बताउँछन् ।
अस्पतालका प्रसुती विभाग प्रमुख वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भक्तवत्सल राउतको नेतृत्वमा महिलाको शल्यक्रिया सफल भएको हो । शल्यक्रियाका लागि अस्पतालका डा. अनुपमा केसी, डा. बबिता थापा, डा. सीमा राना तथा एनेस्थेसिया कन्सल्टेन्स डा. समीर आचार्य सहभागी भएका थिए ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले प्रसुती सेवा बाहेक अन्य क्षेत्रमा समेत सेवा विशिष्टिकृत गर्ने अभियान रहेको बताए । लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर अन्य प्रदेशमाभन्दा बढी रहेको बताउँदै उनले त्यसलाई कम गर्नका लागि अस्पतालले सेवा बिस्तारलाई जोड दिएको बताए । अस्पतालमा छुट्टै भवनबाट प्रसुती सेवा तथा शल्यक्रिया सेवा उपलब्ध गराउन सुरु गरेपछि सेवाग्राहीलाई थप सहज भएको मेसु ढकालले बताए ।
मेसु ढकालले आफू आएपछि सेवा विशिष्टिकृतसँगै अनलाइन टिकेटिङ, महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारका लागि म्यामोग्राफी सेवा सञ्चालन, ब्रेस्ट क्लिनिक स्थापना, स्वचालित ल्याव रिपोर्ट डिस्प्याच मेशिन जडान, फार्मेसी काउन्टर वृद्धि लगायतका सेवा बिस्तार गरिएको बताए ।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा बिस्तारसँगै गुणस्तीय र सहजताका लागि पनि जोड दिइएको बताए । अस्पतालमा भौतिक संरचनाहरु समेत थप गर्ने क्रम जारी रहेको जानकारी गराउँदै उनले छिट्टै मेडिकल वार्डमा बेड सङ्ख्या थप गरी ९० पुर्याउने तथा आईसीयू बेड संख्यालाई समेत बिस्तार गर्ने तयारीमा रहेको जानकारी गराए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology