Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

एआईको बढ्दो प्रयोगले कसरी निम्त्याउदैछ पानीको संकट ?

एआईको बढ्दो प्रयोगले कसरी निम्त्याउदैछ पानीको संकट ?

images
  • एआईको बढ्दो प्रयोगले कसरी निम्त्याउदैछ पानीको संकट ?
    images
    images

    काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तीव्र गतिमा बढिरहेको छ । यो प्रविधिलाई काम गर्न ठुलो मात्रामा बिजुली चाहिन्छ र डाटा सेन्टरहरूलाई चिसो राख्न पानी निरन्तर प्रयोग गरिन्छ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघका अनुसार विश्वको आधा जनसंख्या पहिले नै पानीको अभावको सामना गरिरहेको छ। जलवायु परिवर्तन र पानीको बढ्दो मागका कारण भविष्यमा यो संकट अझ गहिरो हुन सक्छ। ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले च्याटजीपीटीमा सोधिएको प्रश्नको उत्तर दिन एक चम्चाको पन्ध्रौँ भाग पानी लाग्ने बताएका छन् ।  

    images
    images
    images

    तर अमेरिकाको क्यालिफोर्निया र टेक्सासमा गरिएको एक अध्ययनले कम्पनीको जीपीटी–३ मोडेलले १० देखि ५० प्रश्नको उत्तर दिन करिब आधा लिटर पानी प्रयोग गर्ने पत्ता लगाएको छ। यसको अर्थ प्रत्येक उत्तरका लागि करिब २ देखि १० चम्चा पानी खपत हुन्छ ।

    images
    images
    images

    पानी प्रयोगको अनुमान धेरै कारकमा निर्भर गर्दछ। यसमा प्रश्नको प्रकार, प्रतिक्रियाको लम्बाइ, प्रतिक्रिया कहाँ प्रशोधन भइरहेको छ र गणनामा कुन कारक छन् भन्नेमा निर्भर गर्छ । अमेरिकी अनुसन्धानकर्ताहरूले गरेको यस अध्ययनमा ५०० मिलिलिटर अनुमानमा कोइला, ग्यास वा टर्बाइन चलाउन वाफ उत्पादन गर्न, आणविक ऊर्जा प्लान्टहरू जस्ता बिजुली उत्पादन गर्न प्रयोग हुने पानी पनि समावेश छ ।

    ओपनएआईले च्याटजीपीटीले हरेक दिन एक अर्ब प्रश्नको जवाफ दिने गरेको र च्याटजीपीटी मात्र एआई बट नभएको जनाएको छ । अमेरिकी अध्ययनले २०२७ सम्ममा एआई उद्योगले डेनमार्क जस्ता सम्पूर्ण देशको तुलनामा प्रत्येक वर्ष चारदेखि ६ गुणा बढी पानी प्रयोग गर्ने अनुमान गरेको छ ।

    अध्ययनका लेखकमध्ये एक र क्यालिफोर्निया विश्वविद्यालय रिभरसाइडका प्राध्यापक शाओली रेन भन्छन्- ‘हामीले जति धेरै एआई प्रयोग गर्छौं, त्यति नै धेरै पानी उपभोग गर्नेछौँ ।'

    एआईले पानी कसरी प्रयोग गर्छ ?

    हामीले अनलाइन गर्ने सबै कुरा चाहे त्यो इमेल पठाउने होस्, भिडियो हेर्ने होस् वा डीपफेक सिर्जना गर्ने होस्, विशाल डाटा सेन्टरमा हजारौं कम्प्युटर सर्भरद्वारा प्रशोधन गरिन्छ। यी मध्ये केही डाटा सेन्टर धेरै फुटबल मैदान जत्तिकै ठुला छन् । जब यी सर्भर निरन्तर सक्रिय हुन्छन् धेरै तातो हुन्छन्। विशेष गरी सफा, ताजा पानी, सर्भरलाई चिसो राख्नको लागि महत्त्वपूर्ण छ। चिस्याउने विधिहरू फरक हुन्छन्। तर केही प्रणालीमा प्रयोग गरिएको पानीको ८० प्रतिशतसम्म हावामा वाष्पीकरण हुन्छ ।

    छविहरू, भिडियोहरू सिर्जना गर्ने वा जटिल सामग्री सिर्जना गर्ने जस्ता एआई कार्यलाई सामान्य अनलाइन कार्य (जस्तै अनलाइन किनमेल वा खोजी) भन्दा धेरै बढी कम्प्युटिङ शक्ति चाहिन्छ र त्यसैले बढी शक्ति खपत हुन्छ । सही भिन्नता अनुमान गर्न गाह्रो छ । तर च्याटजीपीटीमा गरिएको प्रश्नले गुगलमा गरिएको खोज भन्दा करिब १० गुणा बढी बिजुली खपत गर्ने गरेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को अनुमान छ ।  धेरै बिजुली प्रयोग गरियो त्यति गर्मी उत्पन्न हुन्छ र  चिसो पार्न बढी पानी चाहिन्छ ।

    एआईका लागि पानीको प्रयोग कति तीव्र गतिमा बढिरहेको छ ?

    प्रमुख एआई टेक कम्पनीहरूले आफ्नो एआई–सम्बन्धित गतिविधिले कति पानी खपत गर्छन् भन्ने  खुलासा गर्दैनन् । तर कम्पनीहरूको कुल पानी प्रयोगको तथ्याङ्क निरन्तर बढिरहेको छ । ओपनएआईका प्रमुख लगानीकर्ता र शेयरधारक गुगल, मेटा र माइक्रोसफ्टको वातावरणीय प्रतिवेदन अनुसार २०२० देखि उनीहरूको पानीको प्रयोग तीव्र गतिमा बढेको छ। यस अवधिमा गुगलको पानीको प्रयोग करिब दोब्बर भएको छ। अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस)ले कुनै तथ्याङ्क दिएको छैन । एआईको माग बढ्दै जाँदा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले डाटा सेन्टरहरूले गर्ने पानीको प्रयोग २०३० सम्ममा करिब दोब्बर हुने अनुमान गरेको छ। यसमा बिजुली उत्पादन गर्न र कम्प्युटर चिप्स बनाउन प्रयोग हुने पानी पनि समावेश छ ।

    गुगलले डाटा सेन्टरहरूले २०२४ मा पानीका स्रोतहरूबाट ३७ अर्ब लिटर पानी लिएको जनाएको छ। यसमध्ये २९ अर्ब लिटर उपभोग भएको थियो । यसको अर्थ धेरैजसो वाष्पीकरण भयो । के त्यो धेरै हो ? संयुक्त राष्ट्र संघका अनुसार यो पानीले १.६ मिलियन मानिसको आवश्यकता पूरा गर्न सक्छ। यसले एक वर्षका लागि प्रति दिन ५० लिटर पानी पिउने र प्रयोग गर्ने गर्दछ। अथवा गुगलका अनुसार यो धेरै पानी दक्षिणपश्चिमी अमेरिकामा एक वर्षका लागि ५१ वटा गल्फ कोर्स सिँचाइ गर्न बराबर हो ।

    खडेरीग्रस्त क्षेत्रमा डाटा सेन्टर किन निर्माण गरिन्छ ?

    युरोप, ल्याटिन अमेरिका र अमेरिकी राज्य एरिजोना जस्ता विश्वभरका धेरै खडेरी प्रभावित क्षेत्रमा हालैका वर्षमा डेटा सेन्टरहरूको विरोध भइरहेको  छ । स्पेनमा डेटा सेन्टरहरूको बढ्दो विस्तारको विरोध गर्न ‘तपाईंको बादलले मेरो नदीलाई सुकाउँदैछ’ नामक वातावरणीय समूह गठन गरिएको छ । पानीको प्रयोगको विरोधमा भएको विरोधपछि गुगलले चिली र उरुग्वेमा रहेका आफ्ना डाटा सेन्टरहरूको योजना रोकेको छ वा परिवर्तन गरेको छ । यहाँ हाल गम्भीर खडेरी परिरहेको छ।

    एनटीटी डाटाका विश्वभर १५० भन्दा बढी डाटा सेन्टरहरू छन् । कम्पनीले तातो र सुख्खा क्षेत्रमा डाटा सेन्टरहरू निर्माण गर्ने रुचि बढ्दै गएको बताएको छ । जग्गाको उपलब्धता, विद्युत पूर्वाधार, सौर्य र हावा जस्ता नवीकरणीय ऊर्जा स्रोत र सजिलो नियमनले यी क्षेत्रलाई कम्पनीहरूका लागि आकर्षक बनाएको बताइएको छ ।

    विज्ञहरूले जहाँ आर्द्रता बढी हुन्छ, त्यहाँ क्षरणको समस्या बढ्छ र भवनलाई चिसो राख्न बढी ऊर्जा लाग्ने बताए। यस कारणले गर्दा सुख्खा क्षेत्रमा डाटा सेन्टरहरू स्थापना गर्नु लाभदायक मानिन्छ ।

    गुगल, माइक्रोसफ्ट र मेटाले आफ्ना पछिल्ला वातावरणीय प्रतिवेदनमा सुख्खा क्षेत्रबाट पानी लिइरहेको स्वीकार गरेका छन्।   कम्पनीहरूको पछिल्लो वातावरणीय प्रतिवेदन अनुसार गुगलले आफ्नो १४ प्रतिशत पानी  अभावको उच्च जोखिममा रहेका क्षेत्रबाट र १४ प्रतिशत मध्यम जोखिममा रहेका क्षेत्रबाट आउने बताएको छ ।

    माइक्रोसफ्टले ४६ प्रतिशत पानी ‘पानीको तनाव’ भएका क्षेत्रहरूबाट आउने बताएको छ। मेटाले आफ्नो २६ प्रतिशत पानी ‘उच्च’ वा ‘चरम’ पानी अभावको चाप भएका क्षेत्रबाट आउँछ भनी बताएको छ। एडब्ल्यूएसले कुनै तथ्याङ्क दिएको छैन ।

    के चिसोका विकल्प छन् ?

    सुख्खा वा हावामा चिस्याउने प्रणालीहरू प्रयोग गर्न सकिने तर यसले पानीको सट्टा बढी बिजुली खपत गर्छ । माइक्रोसफ्ट, मेटा र अमेजनले आफूहरूले ‘क्लोज्ड लूप’ प्रणाली विकास गरिरहेको बताए।  यसमा पानी वा अन्य तरल पदार्थ प्रणाली मार्फत निरन्तर परिसंचरण हुन्छ र यसलाई निरन्तर उडाएर बाहिर निकाल्नु वा बदल्नु पर्दैन ।

    डेटा सेन्टरहरूबाट उत्पन्न हुने तापलाई नजिकैका घरमा प्रयोग गर्ने योजना पनि बनिरहेका छन् वा बनाइँदै छन्। यो काम जर्मनी, फिनल्याण्ड र डेनमार्क जस्ता देशमा भइरहेको छ।

    विज्ञहरूले कम्पनीहरूले सामान्यतया सफा, ताजा पानी प्रयोग गर्न रुचाउने बताए। ब्याक्टेरिया र क्षरणको जोखिम कम गर्न पिउने उद्देश्यका लागि प्रयोग गरिने पानी प्रयोग गर्छन्।  यद्यपि केही कम्पनीहरूले अब समुद्री पानी वा कारखानाको फोहोर पानी (जुन पिउन योग्य छैन) प्रयोग गर्ने प्रयास गरिरहेका छन् ।

    खतरनाक हरितगृह ग्यास मिथेनको चुहावट पत्ता लगाएर वा इन्धन बचत गर्ने मार्गमा ट्राफिकलाई पुनः निर्देशित गरेर ग्रहमा दबाब कम गर्न एआई पहिले नै प्रयोग भइरहेको छ ।

    संयुक्त राष्ट्र संघको एजेन्सी युनिसेफको नवप्रवर्तन कार्यालयका विश्वव्यापी निर्देशक थोमस डेभिन भन्छन्- ‘एआईले विश्वभरका बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र सम्भवतः जलवायु परिवर्तनमा पनि ठुलो परिवर्तन ल्याउन सक्छ ।’ तर उनले सबैभन्दा शक्तिशाली र सबैभन्दा उन्नत मोडेल कसले निर्माण गर्न सक्छ भनेर प्रतिस्पर्धा गर्नुको सट्टा कुशलतापूर्वक र पारदर्शी रूपमा कसले काम गर्न सक्छ भनेर हेर्न कम्पनीहरू बीच प्रतिस्पर्धा हुनुपर्ने बताए । उनी कम्पनीहरूले आफ्ना मोडेल ओपन सोर्स गरून् भन्ने पनि चाहन्छन् ।  

    यदि कम्पनीहरूले आफ्ना मोडेल सबैका लागि खोल्छन् भने ठुला मोडेललाई तालिम दिनुपर्ने आवश्यकता कम हुने थोमस डेभिनले बताए ।  तालिम भनेको प्रणालीमा धेरै डेटा राख्नु र त्यसपछि त्यसैको आधारमा उत्तरहरू तयार गर्नु  र यो प्रक्रियामा धेरै बिजुली र पानी खपत हुने बताए । 

    तर स्वतन्त्र अनुसन्धानकर्ता लोरेना जौमे–पलासीले  भनिन्,‘एआई यति तीव्र गतिमा विस्तार भइरहेको छ कि यसलाई वातावरणीय रूपमा दिगो बनाउन असम्भव छ।’ उनी थप भन्छन्,‘हामी यसलाई प्रभावकारी बनाउन सक्छौं तर जति प्रभावकारी बनाउँछौं यसको प्रयोग बढ्दै जान्छ।’ उनले दीर्घकालीन रूपमा ठुला र छिटो एआई प्रणालीहरू निर्माण गर्न यो दौडलाई टिकाउन पर्याप्त कच्चा पदार्थहरू नभएको बताइन्।   

    प्रविधि कम्पनीहरू के भनिरहेका छन् ?

    गुगल, माइक्रोसफ्ट, एडब्ल्यूएस र मेटाले प्रत्येक स्थानको स्थानीय अवस्थाको आधारमा शीतलन प्रविधि छनौट गर्ने बताएका छन्। यी सबै कम्पनीहरूले २०३० सम्ममा पानी सकारात्मक बन्ने लक्ष्य राखेका छन्। यसको अर्थ औसतमा कम्पनीहरूले प्रयोग गर्ने भन्दा बढी पानी फिर्ता गर्ने प्रयास गर्नेछन् । यस उद्देश्यका लागि कम्पनीहरूले आफ्ना डेटा केन्द्र अवस्थित क्षेत्रमा पानी संरक्षण र पुनःपूर्ति परियोजना सञ्चालन गर्छन् ।

    जस्तै वन वा सिमसार पुनर्स्थापना गर्ने, पाइपलाइनहरूमा चुहावट पत्ता लगाउने वा राम्रो सिँचाइ विधिहरू अपनाउने बताएका छन् । एडब्ल्यूएसले आफ्नो लक्ष्य हासिल गर्ने ४१ प्रतिशत बाटो पार गरिसकेको बताएको छ। माइक्रोसफ्टले यो ट्रयाकमा रहेको बताएको छ र गुगल र मेटाद्वारा जारी गरिएको तथ्याङ्कले पानी पुनः प्राप्तिमा प्रगति देखाएको छ। तर युनिसेफका थोमस डेभलिनले समग्रमा लक्ष्यमा पुग्न अझै धेरै लामो बाटो बाँकी रहेको बताएका छन् ।

    ओपनएआईले पानी र ऊर्जा बचत गर्न कडा मिहिनेत गरिरहेको बताउँछ। उसले भन्यो,‘हाम्रो कम्प्युटिङ शक्तिको अधिकतम उपयोग गर्नु अत्यन्त महत्त्वपूर्ण छ।’ तर प्रोफेसर रेनले पानीको प्रयोगबारे कम्पनीहरूको रिपोर्टिङ अझ पारदर्शी र सुसंगत हुनुपर्ने बताए । उनले भने,‘यदि हामीले यसलाई मापन गर्न सक्दैनौं भने हामी यसलाई व्यवस्थापन गर्न सक्दैनौं।’  - बिबिसीबाट 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।